उसो त स्थानीय तहको नगरसभा र संघरप्रदेशका संसदीय प्रक्रिया उस्तै हुदैनन्, तर काठमाडौं महानगरपालिकाको नगरसभामा सोमबार जुन दृश्यहरु देखिए, तिनले संसदकै पक्ष–प्रतिपक्षको झल्को दिन पुगे ।
यसअघि पनि बालेनको शब्द र शैलीमाथि वडाध्यक्षहरुबाट छिटफुट आलोचना नभएका होइनन्, तर नीति तथा कार्यक्रममाथिको छलफलका बेला वडाध्यक्षहरुलाई बालेनले पार्टीगत रुपमै गरेको टिप्पणीप्रति काठमाडौैं महानगरपालिकाका नगर सभा सदस्यहरुले आक्रोश व्यक्त गरे । त्यो आक्रोश दलगत रुपमै व्यक्त भयो ।
राष्ट्रिय सभागृहमा भएको नगर सभामा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका जनप्रतिनिधिले मेयर बालेनको फेसबुक स्टाटसप्रति असन्तुष्टि जनाएका हुन् । बालेनले दुई साताअघि फेसबुकमा वडाध्यक्षहरुलाई कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका थिए ।
नगरको नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाएको बैठकमा तीन दलका नेताहरुले संयुक्त रुपमा संशोधन प्रस्ताव पेश गर्न खोजेका थिए । यसका लागि एक घण्टा समय माग्दा अस्वीकार गरेका मेयर बालेनले बैठक स्थगित गरे ।
लगत्तै उनले ती नेताले १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको भन्दै फेसबुकमा लेखेका थिए, ‘काठमाडौं महानगरको कुनै पनि नीति योजनाबारे छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ ।’
मेयर बालेनको त्यही स्टाटसमा सोमबार तीन दलका जनप्रतिनिधिले असन्तुष्टि जनाएका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नविन मानन्धर, एमालेबाट निर्वाचित वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष ईश्वरमान डंगोलले दुई वर्षसम्म मिलेर काम गर्दा पनि आफूहरुलाई आरोपित गरेको गुनासो गरे ।
उनीहरुले आफूहरुले साझा रुपमा संशोधन प्रस्ताव तयार पारेको भन्दै सोमबारको नगरसभा बैठकमा पेश गरेका छन् ।
उनीहरुले मेयर बालेनको कार्यशैली र प्रतिक्रियालाई लिएर असन्तुष्टि पोखे । एमालेबाट निर्वाचित काठमाडौं–३२ का वडाध्यक्ष पराजुलीले आफूहरु दलको घोषणापत्र र चुनाव चिह्न लिएर जनतामाझ गएको र अहिले दल र जनताले चुनावमा गरेको वाचा पूरा गर भनेर भनिरहेको बताए ।
त्यसअनुसार साझा धारणा बनाउन एक घण्टा बैठक सारौं भन्दा मेयरले बैठक स्थगित नै गरेर स्टाटस लेखेको भन्दै उनले भने, ‘अन्तिम गाँसमा ढुंगो लागेको जस्तो । नमिठो जस्तो । जुन खालको स्टाटस आयो, त्यसमा दुःख लाग्यो ।’
यसअघि पनि आफूहरु तीन जनाले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गर्ने गरेको भन्दै उनले प्रश्न गरे, ‘के हामी निरंकुश नै हौं रु त्यसो हो भने २ वर्षसम्म गरेको कामलाई निरंकुश तानाशाही भनिदिनुपर्यो ।’
उनले नेताहरुको नाम लिंदै स्टाटस हाल्दा आफ्नो मर्यादालाई ख्याल गर्न समेत मेयर बालेनलाई आग्रह गरे ।
सम्बोधनका अन्तिममा वडाध्यक्ष नवराज पराजुलीले नारायणगोपालको भावुक गीत सम्झिए, ‘तिम्रो जस्तो मुटु मेरो पनि, नबोलाउ मलाई निष्ठुरी भनी ।’
एकीकृत समाजवादीबाट निर्वाचित डंगोलले मेयर बालेनको स्टाटसतर्फ इंगित गर्दै त्यसले आफूलाई निन्द्रा नलागेको बताए । उनले भने, ‘लेनदेन गरेको कुरा आयो, हामीले कहाँ लेनदेन गर्यौं तपाईं भनिदिनुस् मेयरसा’ब रु’





प्रतिक्रिया