काठमाडौं । संस्कृत शिक्षाको अपरिहार्यताः, प्रदायक संस्थाहरूले भोग्नपरेका समस्या र समाधानका उपाय विषयक विचार गोष्ठी तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संस्कृत शिक्षालाई व्यावहारिक बनाउने, सोलुखुम्बु नेचा सल्यान २ स्थि श्री वी.पी संस्कृत मावि, श्री वी.पी संस्कृत विद्यापीठ र गौरिशंकर गुरुकुलको शिक्षालाई एकापसमा समन्वयात्मक गराउने र समग्र शिक्षालाई जीविकोपार्जनसँग जोड्ने विषयमा अन्तरक्रिया भएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले संस्कृतमा अथाह सामर्थ्य रहेको र सो सामर्थ्यको शक्ति प्रयोग गर्न नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
संस्कृत शिक्षालाई ब्राह्मणको शिक्षा भनिए पनि ब्राह्मण नै संस्कृत शिक्षा मास्न लागि परेको बताउनुभयो ।
गुरुकुल र संस्कृत शिक्षाको प्रवर्द्धनका लागि आर्थिक पक्ष महत्वपूर्ण रहेको सन्दर्भलाई जोड्दै उहाँले भन्नुभयो, ‘खालि जग्गामा सिस्नो, तीतेपातीको खेती गरी गुरुकुल र संस्कृत शिक्षाको संवद्र्धन गर्न सकिन्छ । जसले नेपालको मात्रै नभएर विश्वकै ध्यानाकर्षण गर्छ ।’
कार्यक्रमका प्रमुख अतिथि अनन्त श्री विभुषित स्वामी ज्ञानानन्द सरस्वतीले संस्कृत भाषा, पशुपक्षी, कीट पतङ्गको भाषा भएको बताउँदै संस्कृत भाषा कहिल्यै पनि नमासिने बताउनुभयो ।
संस्कृत भाषा पढ्ने विद्यार्थी हुँदैनन् भन्ने प्रसंगमा उहाँले प्रणाली सही भए सुदूरपश्चिमबाट संस्कृत शिक्षा अध्ययन गर्न विद्यार्थी सोलुखुम्बु पुग्ने बताउनुभयो ।
हाल उहाँको संरक्षकत्वमा १५०० भन्दा बढी विद्यार्थी गुरुकुल पद्धतिमा अध्ययनरत छन् ।
सो क्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले २७ भन्दा बढी महिला ऋषि भएको वेदको चिन्तन नजानेर महिलालाई होच्याइएको बताउँदै यसकै कारण संस्कृत शिक्षा ओझेलमा परेको बताउनुभयो । शिक्षा आर्जनका लागि भौतिक पूर्वाधार गौण रहेको बताउँदै चेतना कमजोर रहेको बताउनुभयो ।
वाल्मीकि विद्यापीठका प्रा.डा. भागवत प्रसाद ढकालले संस्कृत पढ्नेहरू कुनै न कुनै रुपमा रोजगार रेहको बताउनुभयो । यस्तै, सह प्राचार्य गणेश प्रसाद घिमिरेले संस्कृत शिक्षा भाषा,ज्ञान, विज्ञानसम्मत रहेको बताउँदै संस्कृत पढेकाहरू विश्वविद्यालयहरूमा सेवा आयोगभन्दा स्वआर्जनमै रमाउने गरेको बताउनुभयाे ।
वेदभूमिमा जन्मिएकाहरूले व्यासको भन्दा प्लेटोले भनेको कुरालाई विश्वास गर्दा संस्कृत शिक्षा संकटमा परेको उहाँको भनाइ छ ।
यस्तै, महर्षि फाउन्डेसनमार्फत् ९० भन्दा बढी गुरुकुल सञ्चालन गर्दै आएका पूर्वमन्त्री दीपकराज्य दीपक प्रकाश बाँस्कोटाले ५१ वर्षयता अमेरिकमा गुरुकुल सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार जहाँ २७ भन्दा बढी देशका विद्यार्थीले संस्कृत शिक्षा आर्जन गरिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयका शिक्षा विकास अनुसन्धान केन्द्रका निर्देशक एवं अंग्रेजी केन्द्र विभागका प्रमुख कृष्णचन्द्र शर्माले परिस्कृत भएको भाषा नै संस्कृत भाषा भएको बताउँदै सबै विद्यालयमा संस्कृत शिक्षा अनिवार्य हुनुपर्ने बताउनुभयो । नेपालका सबै विश्वविद्यालयमा नेपालको दर्शन अनिवार्य हुनुपर्ने उहाँले बताउनुभयो ।
गोष्ठीका संयोजक बलबहादुर केसीले संस्कृत संरक्षणको अभियानको रुपमा अघि बढेको बताउँदै अब नरोकिने बताउनुभयाे । श्री वी.पी. संस्कृत विद्यापीठ र वी.पी. संस्कृत माविका क्रमश: प्राचार्य लोकनाथ दाहाल र प्रधानाध्यापक उमाकान्त काफ्ले विद्यापीठ र विद्यालयकाे विद्यमान अवस्थाबारे जानकारी गराउनुभएकाे थियो । सोलुखुम्बु नेचा सल्यान २ मा गौरिशंकर गुरुकुल, संस्कृत मावि र संस्कृत विद्यापीठ सञ्चालनरत छन् । कार्यक्रममा समाजसेवी प्रकाशसिंह कार्की तथा शिक्षा क्षेत्रका प्राज्ञिक व्यक्तित्वको उपस्थित थियो । कार्यक्रम श्री वी.पी. संस्कृत माविका राष्ट्रिय तथा अन्तर्राष्टिय समितिका सदस्य शम्भुहरि बाँस्तोलाले सञ्चालन गर्नुभएको थियो ।
गोष्ठी राजधानी काठमाडौं कमलपोखरीस्थित हुकुम दरबारमा भएको थियो । दरबारले गोष्ठी सञ्चालनका लागि नि:शुल्क व्यवस्थापनको भूमिका निर्वाह गरेको थियो ।








प्रतिक्रिया