सबै संघीय अस्पतालबाट मृर्गौला प्रत्यारोपण गरिने

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड विनियोजन गरिएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । प्रदेशतर्फ ६ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो । त्यसपछि पनि स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा महतले बताए ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

सरकारले मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने महतले बताए ।

उनले सबै संघीय अस्पतालमा मानसिक रोगका लागि अन्तरंग सेवा विस्तार गरिने, वीर अस्पतालको वर्न युनिटलाई सुविधासम्पन्न वर्न अस्पतालको रुपमा विकास गरिने बताए ।

त्यस्तै, मन्त्री महतले सबै संघीय अस्पतालबाट मृगौला प्रत्यारोपण हुने व्यवस्था गरिने र स्थानीय तहमा निर्माण भइरहेका अस्पतालका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । निःशुल्क औषधिका लागि १ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको र सरुवा रोग नियन्त्रणका लागि ४६ करोड विनियोजन गरिएको उनले बताए ।

प्रतिक्रिया