अवैध मानिएको डिजिटल करेन्सीलाई वैधता दिन बाफियामार्फत् संसद्मा पेस गरिएको छ ।
नेपाल सरकारले अवैध मानेको डिजिटल करेन्सी अर्थात् भर्चुअल मुद्राको कारोबारलाई स्वीकृति दिन सरकारले नेपालको संसद्मा बाफिया पेस गरेको हो ।
विद्यमान बाफिया ऐन, २०७३ को दफा ४९ को उपदफा १ मा थप व्यवस्था गर्दै सरकारले वाणिज्य बैंकलाई डिजिटल मुद्रा स्वीकार गर्ने तथा भुक्तानी दिने व्यवस्था प्रस्ताव गरिएको छ ।
यसैगरी सोही दफाको उपदफा २ र ३ मा पनि संशोधन गरेर बैंकहरूलाई डिजिटल मुद्रा स्वीकार्ने व्यवस्था खुला गर्न खोजिएको छ ।
तर, यस्तो स्वीकृति मुद्रा अन्य प्रकारको भर्चुअल करेन्सी तथा क्रिप्टो करेन्सीका लागि नभई केन्द्रीय बैंकको प्रत्यक्ष निगरानीमा केन्द्रीय बैंकले नै जारी गर्ने सीबीडीसी अर्थात् (सेन्ट्रल बैंक डिजिटल करेन्सी)का लागि हो ।
यदि संसद्बाट बाफिया बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ संशोधन भए वाणिज्य बैंकले डिजिटल मुद्राको कारोबार गर्न सक्नेछन् ।
बढ्दो क्रिप्टो करेन्सी तथा अन्य खालका भर्चुअल मुद्राको प्रयोगलाई निरुत्साहित गर्न केन्द्रीय बैंकले आवश्यकताका आधारमा सीबीसी जारी गर्नसक्ने बताइएको छ ।
विज्ञहरुका अनुसार अन्य भर्चुअल मुद्राको रेट तलमाथि हुने भए पनि सीबीसीको रेट स्थिर रहनेछ
क्रिप्टो करेन्सी र यसको इतिहास
क्रिप्टो करेन्सी, क्रिप्टो र करेन्सी शब्द दुई वटा अंग्रेजी शब्द मिलेर बनेको शब्द हो ।
क्रिप्टोको अर्थ गुप्त र करेन्सी अर्थ मुद्रा हुन्छ । अतः शाब्दिक रुपमा क्रिप्टो करेन्सी भनेको सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो ।
तर, यसलाई सिक्का र नोटजस्तो छुन, पट्याउन वा खल्तीमा राख्न सकिँदैन ।
क्रिप्टोकरेन्सीलाई डाटाबेसमा सीमित प्रविष्टी गरिएको हुन्छ । जसलाई खास पूर्वसर्त पूरा नगरी कसैले पनि फेर्न वा बदल्न सक्दैन ।
क्रिप्टो करेन्सीको सुरुवात सन् १९९० को दशकबाट भएको पाइन्छ । यसै समयदेखि बजारमा फ्लूज, बिन्ज र डिजिक्यासजस्ता उपकरण देखिएका थिगए । तर, ती कुनै पनि दीर्घकालीन हुन सकेनन् ।
यसको करिब २ दशक अर्थात् सन् २००९ को प्रारम्भमा सातोसी नाकामोतो छद्म नामका एक व्यक्तिले बिटक्वाइन को आविष्कार गरे ।
क्रिप्टोकरेन्सीबाट के के गर्न सकिन्छ ?
सुरु सुरुममा क्रिप्टो करेन्सीलाई अवैध धन्दाको रुपमा लिइन्थ्यो । तर, विस्तारै यसले विश्वभर मुद्राको मान्यता पाउँदै छ । अहिले क्रिप्टोकरेन्सी
अनलाइन वा अफलाइनको रुपमा धेरै व्यापारीले प्रयोग गर्छन् । प्रयोगका हिसाबले पश्चिमा मुलुकमा ठुल्ठुला अनलाइन बिक्रेतादेखि साना स्थानीय पसल, बार र रेष्टुरेण्टमा बिटक्वाइनको प्रयोग भएको पाइन्छ ।
होटल, उडान, गहना, कम्प्युटर आदिका लागि मात्र होइन कलेजको फी तिर्नसमेत बिटक्वाइनकै प्रयोग हुन थालेको छ । यस्तै, पछिल्लो समय सेयर बजारपछि आकर्षको लगानी क्षेत्र बनेको छ क्रिप्टो करेन्सी ।
बिटिफाई र ओपनबजारजस्ता केही अनलाइन सपिङ साइटले क्रिप्टोकरेन्सी मात्र स्वीकार गर्छन् ।
बजारमा बिटक्वाइनमा लगानी गरेर रातारात धनी भएका केही उदाहरण पनि उपलब्ध छन् ।
तर, क्रिप्टोकरेन्सीमा राखिने पैसा जोखिमपूर्ण लगानी हो । तिनको बजारभाउ प्रत्येक हप्तामा तलमाथि भइरहन्छ । यसको नियमन गर्ने निकाय छैन । क्रिप्टोकरेन्सीको एक्सचेञ्ज ह्याक हुनसक्ने सम्भावना हुन्छ ।
क्रिप्टोकरेन्सीका मुख्य प्रकार
क्रिप्टो करेन्सीका धेरै प्रकारका छन् । त्यसमध्ये एक हो विटक्वाइन । यो मुद्रा क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा पहिलो र लोकप्रिय छ । यसका अलावा अन्य मुद्रा पनि प्रचलनमा छन् ।
दोस्रो हो, रिपल । रिपललाई बिटक्वाइनभन्दा छिटो कारोबार गर्न सकिने दाबी एकथरिको छ ।
तेस्रो हो, लिटक्वाइन । यसलाई बिटक्वाइनको भाइ पनि भन्ने गरिन्छ । यसको कारोबारको गति बिटक्वाइनको भन्दा द्रूत हुने दाबी गरिन्छ ।
चौथो करेन्सी हो, मोनेरो । यसले बिटक्वाइनमा नभएका गोपनीयता गुणलाई परिपूरण गर्छ ।
क्रिप्टोकरेन्सी र वैधताको प्रश्न
विश्व बजारमा क्रिप्टोकरेन्सीको कारोबार बढेसँगै विश्व कर प्रशासनमा एक नयाँ चुनौती थपिएको छ ।
विकेन्द्रित, स्वनिर्भर र कुनै भौतिक स्वरुप वा आकारमा प्रकट नहुने, कुनै एकल निकायले नियन्त्रण गर्न नसक्ने बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीको आगमनले कारोबार र भुक्तानीका परम्परागत प्रणाली र कर प्रशासनमा हलचल ल्याएको छ ।
यसैले पनि हरेक मुलुकअनुसार क्रिप्टोकरेन्सीबारे फरक फरक नीति अनुशरण गरेको पाइन्छ । केही मुलुकले क्रिप्टो करेन्सीलाई वैध रुपमा स्वीकारेका छन् ।
तर, नेपाल, बंगलादेश, बोलिभिया, इक्वेडोर, भियतनामजस्ता मुलुकमा बिटक्वाइनलगायत सबै डिजिटल मुद्रा अवैध छन् ।
क्रिप्टो करेन्सीलाई अवैध मानिए पनि अन्नतः सबै मुलुकले यसलाई स्वीकार्ने निश्चितजस्तै छ । छिमेकी मुलुक भारतले सन् २०२२ नोभेम्बर २४ बाट विद्युतीय मुद्रा कारोबारमा ल्याएको छ ।



प्रतिक्रिया