काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्याय एक नाजुक र जटिल प्रक्रिया भएको बताएका छन्।
संघीय संसदको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले संक्रमणकालीन न्याय टुंगो लगाउने सन्दर्भमा नेपालको साथमा संयुक्त राष्ट्रसंघ पनि हुने बताएका हुन्। उनले नेपालमा प्रगति र समाधान खोज्ने प्रयासलाई स्वागत गर्ने बताउँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सवालमा नेपाल एक्लो नभएको बातए।
‘तपाईंहरू एक्लो हुनुहुन्न,’ महासचिव गुटेरेसले भने,‘अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, तपाईंको सर्वोच्च अदालतका निर्णय र पीडितहरूका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउन संयुक्त राष्ट्रसंघ तपाईंहरूलाई सहयोग गर्न तयार छ।’
उनले बितेको २० वर्षमा नेपालको यात्रा हेर्न लायक र अद्भूत रहेको बताउँदै नेपालले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको र युद्धबाट शान्तितर्फ उन्मुख भएको भन्दै प्रशंसा पनि गरे।
‘तपाईंहरू आफ्ना शान्ति प्रक्रियाका अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ,’ महासचिव गुटेरेसले भने, ‘प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णविराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ।’
उनले संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै त्यो सजिलो भने नभएको बताए।
‘हामीलाई के कुरा थाहा छ भने संक्रमणकालीन न्यायमा सफलताको सबभन्दा ठूलो सम्भावना हुन्छ जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन्,’ गुटेरेसले भने,‘जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ। त्यतिमा मात्र होइन जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन्। यसका अतिरिक्त जब मानवाधिकार उल्लङ्घनका सबै पीडितहरूले अर्थपूर्ण समाधान पाउन सक्छन्।’
उलने संसदंलाई संबोधन २०८० कातिक १४ गते मंगलबार गरेका हुन् । उनी यही कातिक ११ गते राति नेपाल आएका थिए ।





प्रतिक्रिया