चक्रवात ‘अर्नब’ कमजोर बन्दै, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ कमजोर हुँदै बलियो न्यूनचापीय प्रणालीमा परिणत भएको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहान ११ः३० बजे उक्त प्रणाली बलियो न्यूनचापीय क्षेत्रका रूपमा रहेको छ ।

नेपाल नजिक आइपुग्दा चक्रवात थप कमजोर हुने सम्भावना रहेको विभागले जनाएको छ । यसको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म (कात्तिक १२ देखि १४ गतेसम्म) देशका धेरै स्थानमा वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

चक्रवातको प्रभावले केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि छ । यद्यपि, चक्रवात शक्तिशाली अवस्थामा रहँदा हुन सक्ने जस्तो तीव्र हावाहुरीको जोखिम नेपालमा नरहेको विभागले स्पष्ट पारेको छ ।

विभागका अनुसार ‘अर्नब’ नेपाल प्रवेश गर्ने समयसम्म थप कमजोर हुने भएकाले यसको प्रभाव वर्षा, हिमपात र सामान्य हावाहुरीमा सीमित रहने सम्भावना छ ।

चक्रवातको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन आउन सक्ने भएकाले आगामी केही दिन मौसमको अवस्था र विभागले जारी गर्ने पूर्वानुमानमा ध्यान दिन आवश्यक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार