काठमाडौं । नेपालको अर्थतन्त्रको वृद्धिदर आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा सुस्त देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकअनुसार वैशाखदेखि असारसम्मको अवधिमा अर्थतन्त्र ४ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा अर्थतन्त्रको वृद्धिदर ४.८ प्रतिशत थियो।
अर्थतन्त्रका अधिकांश क्षेत्रमा विस्तार देखिए पनि औद्योगिक उत्पादन र कृषि क्षेत्रको वृद्धिदर कमजोर छ। विद्युत् उत्पादन, वित्तीय तथा बीमा सेवा, आवास तथा भोजन सेवा र व्यापार क्षेत्रको विस्तारले समग्र अर्थतन्त्रलाई बढाउन सहयोग गरे पनि सरकारी खर्चमा आएको कमी र आन्तरिक उत्पादनमा भएको सामान्य वृद्धिले आर्थिक गतिविधिलाई तीव्र बनाउन नसकेको कार्यालयले जनाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेका अनुसार १८ औद्योगिक क्षेत्रमध्ये सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रबाहेक १७ क्षेत्रको वृद्धिदर सकारात्मक रहने अनुमान छ। तर सबै क्षेत्रमा विस्तारको गति समान छैन। कतिपय क्षेत्रमा उच्च वृद्धि देखिए पनि उत्पादनमूलक क्षेत्रको अवस्था कमजोर छ।
आर्थिक वृद्धिदर अघिल्लो वर्षको सोही त्रैमासको तुलनामा ०.८ प्रतिशत बिन्दुले घटेको हो। यसले अर्थतन्त्र विस्तार भइरहे पनि वृद्धिको गति अघिल्लो वर्षको तुलनामा सुस्त भएको देखाउँछ। कार्यालयले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक अनुमान भएकाले आगामी संशोधनमा वृद्धिदर परिवर्तन हुन सक्छ।
विद्युत् क्षेत्रमा २४.३६ प्रतिशत वृद्धि
चौथो त्रैमासमा सबैभन्दा उच्च वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रमा देखिएको छ। यस क्षेत्रको मूल्य अभिवृद्धि २४.३६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो क्षेत्र १२.६ प्रतिशतले विस्तार भएको थियो। विद्युत् उत्पादन, प्रसारण तथा वितरणमा भएको विस्तारले यस क्षेत्रको वृद्धिमा योगदान पुर्याएको कार्यालयले जनाएको छ।
विद्युत् क्षेत्रको वृद्धिदर अन्य क्षेत्रको तुलनामा उच्च रहे पनि त्यसको प्रभाव समग्र अर्थतन्त्रमा समान रूपमा देखिएको छैन। अर्थतन्त्रमा उत्पादन, रोजगारी र आन्तरिक मागसँग प्रत्यक्ष जोडिएका औद्योगिक तथा कृषि गतिविधिको विस्तार भने सीमित छ।
चौथो त्रैमासमा वित्तीय तथा बीमा क्षेत्र ९.०७ प्रतिशतले विस्तार हुने अनुमान छ। आवास तथा भोजन सेवा ७.८४ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्र ७.६६ प्रतिशतले बढ्ने देखिएको छ। त्यस्तै, यातायात तथा भण्डारण क्षेत्र ६.८१ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार क्षेत्र ५.९७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।
प्रशासनिक तथा सहयोगी सेवा ५.५५ प्रतिशत र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्र ४.७ प्रतिशतले बढ्ने कार्यालयको प्रक्षेपण छ। खानी तथा उत्खनन क्षेत्र ३.३४ प्रतिशत र घरजग्गा कारोबार २.६८ प्रतिशतले विस्तार हुने अनुमान छ।
निर्माण क्षेत्रको वृद्धिदर २.३८ प्रतिशत रहने देखिएको छ। पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापन क्षेत्र १.४३ प्रतिशत र शिक्षा क्षेत्र १.३२ प्रतिशतले बढ्ने अनुमान छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र भने ०.१२ प्रतिशतले संकुचित हुने देखिएको छ।
उद्योगको उत्पादन १.४४ प्रतिशतले मात्रै बढ्ने
अर्थतन्त्रको उत्पादनमूलक क्षेत्रमध्ये औद्योगिक उत्पादनको वृद्धिदर कमजोर देखिएको छ। चौथो त्रैमासमा उद्योग क्षेत्र १.४४ प्रतिशतले मात्रै विस्तार हुने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औद्योगिक उत्पादनको वृद्धिदर ०.३ प्रतिशत थियो।
वर्षगत तुलना गर्दा उद्योग क्षेत्रको वृद्धिदर केही सुधारिएको देखिए पनि अघिल्लो त्रैमाससँग तुलना गर्दा उत्पादन घटेको छ। मौसमी प्रभाव समायोजन गरिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा औद्योगिक उत्पादन ०.४८ प्रतिशतले संकुचित हुने अनुमान गरिएको छ।
यसले उद्योग क्षेत्रमा वर्षगत रूपमा सामान्य सुधार देखिए पनि छोटो अवधिमा उत्पादन गतिविधि खुम्चिएको संकेत गर्छ। औद्योगिक उत्पादनमा सुधार नहुँदा अर्थतन्त्रको विस्तारसँगै रोजगारी सिर्जना, आन्तरिक उत्पादन वृद्धि र आयात प्रतिस्थापनमा अपेक्षित गति आउन कठिन हुन्छ।
प्रवक्ता लामिछानेले निर्माण क्षेत्रसमेत अझै चलायमान हुन नसकेको बताए। उनका अनुसार मौसमी प्रभाव समायोजन गरिएको तथ्यांकमा निर्माण क्षेत्रको वृद्धिदर ०.२९ प्रतिशत मात्रै छ। आर्थिक गतिविधि बढाउन सरकारले पुँजीगत खर्च वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए।
निर्माण क्षेत्रको वर्षगत वृद्धिदर २.३८ प्रतिशत अनुमान गरिए पनि अघिल्लो त्रैमासको तुलनामा यसको विस्तार न्यून देखिएको छ। निर्माण गतिविधिमा सार्वजनिक तथा निजी लगानी, पूर्वाधार आयोजना र निर्माण सामग्रीको मागले प्रभाव पार्ने भएकाले यस क्षेत्रको सुस्तता अर्थतन्त्रको समग्र गतिसँग जोडिन्छ।
कृषि क्षेत्रको वृद्धिदर १.३५ प्रतिशतमा सीमित
अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.३५ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ। कृषि तथा वन पैदावार उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सकारात्मक योगदान पुर्याउने कार्यालयको आकलन छ।
तर अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने क्षेत्रको वृद्धिदर सीमित रहँदा समग्र आर्थिक विस्तारमा त्यसको प्रभाव पर्छ। कृषि उत्पादनको वृद्धि कमजोर हुँदा ग्रामीण आय, रोजगारी, उपभोग र कृषि उपजमा आधारित उद्योगको गतिविधिसमेत प्रभावित हुन सक्छ।
कृषिको तुलनामा व्यापार तथा सेवा क्षेत्रको वृद्धिदर उच्च देखिएको छ। अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार क्षेत्र ५.९७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। कार्यालयका अनुसार व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिले यस क्षेत्रको विस्तारमा योगदान गरेको छ।
यातायात तथा भण्डारण क्षेत्र ६.८१ प्रतिशत र आवास तथा भोजन सेवा ७.८४ प्रतिशतले बढ्ने अनुमान छ। यी क्षेत्रको वृद्धिले आर्थिक गतिविधि विस्तार भएको देखाए पनि उत्पादनमूलक क्षेत्रको सुस्तताले अर्थतन्त्रको संरचनागत अवस्थाबारे प्रश्न उठाएको छ।
अघिल्लो त्रैमासको तुलनामा अर्थतन्त्र १.५४ प्रतिशतले बढ्ने
अघिल्लो आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा अर्थतन्त्र ४ प्रतिशतले बढ्ने अनुमान गरिएको भए पनि मौसमी प्रभाव समायोजन गरेर अघिल्लो त्रैमाससँग तुलना गर्दा वृद्धिदर १.५४ प्रतिशत छ। यी दुई तथ्यांक फरक आधारमा गणना गरिएकाले तिनलाई एउटै अर्थमा बुझ्नु हुँदैन।
मौसमी प्रभाव समायोजित तथ्यांकअनुसार आवास तथा भोजन सेवा क्षेत्र तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा ६.०५ प्रतिशतले विस्तार हुने अनुमान छ। विद्युत् तथा ग्यास क्षेत्र ३.७६ प्रतिशत र खानी तथा उत्खनन क्षेत्र ३.२२ प्रतिशतले बढ्ने देखिएको छ।
थोक तथा खुद्रा व्यापार २.९० प्रतिशत, शिक्षा ३.०७ प्रतिशत र वित्तीय तथा बीमा क्षेत्र २.१० प्रतिशतले विस्तार हुने अनुमान छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र पनि अघिल्लो त्रैमासको तुलनामा २.२१ प्रतिशतले बढ्ने देखिएको छ।
तर औद्योगिक उत्पादन ०.४८ प्रतिशतले घट्ने अनुमान छ। सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ०.०७ प्रतिशत, निर्माण क्षेत्रको ०.२९ प्रतिशत र घरजग्गा कारोबारको ०.६० प्रतिशत रहने देखिएको छ। यातायात तथा भण्डारण क्षेत्र ०.७३ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। कृषि, वन तथा मत्स्य क्षेत्र भने अघिल्लो त्रैमासको तुलनामा १.०८ प्रतिशतले बढ्ने देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले अर्थतन्त्रका अधिकांश क्षेत्रमा वृद्धि देखिए पनि त्यसको गति र प्रकृति फरक रहेको देखाउँछ। विद्युत्, वित्तीय सेवा, व्यापार तथा आवास र भोजन सेवामा भएको विस्तारले अर्थतन्त्रलाई सहयोग गरेको छ। तर उद्योगको उत्पादन र कृषि क्षेत्रको वृद्धिदर सीमित रहँदा आर्थिक विस्तारको आधार व्यापक हुन सकेको छैन।
सरकारी खर्चमा आएको कमीले पनि आर्थिक गतिविधिमा असर पारेको कार्यालयको निष्कर्ष छ।



प्रतिक्रिया