१६०० रुसी व्यक्ति र संस्थालाई इयूको प्रतिबन्ध

काठमाडौं । युरोपेली युनियन (ईयू)ले रुसको सैन्य–औद्योगिक क्षेत्रमाथि दबाब बढाउन करिब एक हजार ६०० नयाँ व्यक्ति र संस्थालाई प्रतिबन्ध सूचीमा राख्ने निर्णय गरेको छ । ईयूकी विदेश नीति प्रमुख काया क्लासले सोमबार यसको जानकारी दिएकी हुन् ।

उनले आधाभन्दा बढी सूचीकरण रुसी बलिस्टिक मिसाइल उत्पादनसँग सम्बन्धित आपूर्ति शृंखलालाई लक्षित गरेको बताइन् । रुस–युक्रेन युद्ध सुरु भएयता प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ठूलो एकमुस्ट विस्तार भएको क्लासले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेकी छन् ।

क्लासका अनुसार, प्रतिबन्धको उद्देश्य युक्रेनविरुद्ध प्रयोग हुने हतियार उत्पादनलाई रुसका लागि कठिन, ढिलो र महँगो बनाउनु हो । ईयूले यसबाट रुसको सैन्य उत्पादन क्षमतामाथि दबाब बढ्ने विश्वास गरेको छ ।

लक्जमबर्गमा विदेश मामिला परिषद्को बैठकअघि क्लासले रुसको कब्जामा रहेका युक्रेनी भूभागमा गराइएका चुनावको पनि आलोचना गर्दै तिनलाई ‘देखावटी चुनाव’ भनेकी छन् । उनले युद्ध अन्त्यका लागि रुसमाथि निरन्तर दबाब कायम राख्नुपर्ने र प्रतिबन्धका विषयमा अमेरिकासँग समन्वय बढाउनुपर्ने बताएकी छन् ।

गत महिना ईयूले युक्रेनसम्बन्धी प्रतिबन्ध तीन हजारभन्दा बढी व्यक्ति र संस्थामाथि थप तीन वर्षका लागि लम्ब्याएको थियो । त्यस क्रममा तीन व्यक्ति र एक संस्थालाई भने सूचीबाट हटाइएको थियो । ईयू परिषद्का अनुसार, ती प्रतिबन्ध सन् २०२९ सेप्टेम्बर २२ सम्म लागु रहनेछन् ।

प्रतिबन्ध सूचीमा परेका व्यक्तिमाथि यात्रा प्रतिबन्ध लगाइएको छ । उनीहरूको सम्पत्ति रोक्का गर्न र उनीहरूलाई रकम वा अन्य आर्थिक स्रोत उपलब्ध गराउनसमेत रोक लगाइएको छ । एपीन्यूज

प्रतिक्रिया

सम्बन्धित समाचार