काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री निर्वाचित भएपछि नेता उदयशमशेर राणाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएर साझा प्रतिबद्धता सुरु भएको बताएका छन् । महामन्त्री भएपछि पार्टी कार्यालयमा मिडियासँगको प्रतिक्रियामा महामन्त्री राणाले कांग्रेसलाई समयानुकूल परिवर्तन गर्ने साझा संकल्पका रूपमा आफूले जितलाई लिएको बताए ।
“यो विजय व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा संकल्प हो,” राणाले भने, “कांग्रेसको सुन्दरता नै यही हो, प्रतिस्पर्धामा अनेक विचार, तर पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता, हामी सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्नेछौँ ।”
लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सम्पूर्ण साथीहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताए । राणाले १५औँ महाधिवेशनबाट पार्टीको महामन्त्री पदमा निर्वाचित गराउन अमूल्य मत दिएका महाधिवेशन प्रतिनिधिहरूलाई आभारसहित धन्यवाद दिए ।
“यहाँहरूले मप्रति व्यक्त गर्नुभएको विश्वास र सुम्पिनुभएको जिम्मेवारीलाई पार्टी रूपान्तरण, संगठन सुदृढीकरण र देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” राणाले भने ।




प्रतिक्रिया