काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् । सरकारले तीनवटा अध्यादेश जारी गर्न सिफारिस गरे पनि राष्ट्रपति कार्यालयबाट हाल एउटा मात्रै अध्यादेश जारी भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार विपद्सम्बन्धी अध्यादेश जारी भएको छ । भूमिसम्बन्धी केही नेपाल ऐन र वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित बेपत्ता व्यक्तिको मृत्यु घोषणा प्रक्रियालाई सहज बनाउने उद्देश्यले विपद्सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याइएको हो । हालको व्यवस्थाअनुसार १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकामा विपद्का घटनामा भने ४५ दिनमै मृतक घोषणा गर्न सकिने प्रावधान अध्यादेशमा समेटिएको छ ।
त्यस्तै, भूमिसम्बन्धी अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समावेश गरिएको छ । राष्ट्रपति कार्यालयबाट जारी भएपछि सम्बन्धित अध्यादेशका व्यवस्था कार्यान्वयनमा आउनेछन् ।


प्रतिक्रिया