सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिने भएको छ ।
गृह मन्त्रालयस्रोतका अनुसार सशस्त्रकै अर्का एआईजी अञ्जनीकुमार पोखरेलले गरेको छानबिनपछि बर्खास्तको सिफारिस भएको हो । उनलाई भविष्यमा सरकारी सेवामा समेत योग्य नहुने गरी बर्खास्त सिफारिस भएको हो ।
सिफारिसबमोजिम गृह मन्त्रालयमा त्यसको कागजात बनिरहेको स्रोतले जनाएको छ । बर्खास्तको निर्णय भने मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ ।
एआईजी दाहाल गत १९ गते निलम्बनमा परेका थिए । उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाका ज्वाइँ नाता पर्छन् । असोज ११ गते राणा बाँसबारीस्थित घरबाटै पक्राउ परेपछि लगत्तै हिरासतमा भेट्न पुगेका थिए ।
त्यसअघि प्रधानमन्त्री, गृहमन्त्रीहरूको व्यक्तिगत समयको निगरानी र सूचना चुहावट गरेको आरोप उनीमाथि लागेको छ ।
राणाको मोबाइलको प्राविधिक परीक्षणका क्रममा एआईजी दाहालसँग सम्बन्धित त्यस्ता सूचनाहरू खुलेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश राणाले विभिन्न मुद्दामा पक्राउ परी थुनामा राखिएका व्यवसायी दीपक भट्टलाई छुटाउन चलखेल गरेको र त्यसमा पनि दाहालको भूमिका देखिएको स्रोतले जनाएको छ ।
गत वर्ष जेन–जी आन्दोलनपछि विघटित प्रतिनिधिसभाको विघटन संविधानविपरीत भन्दै सर्वोच्च अदालतमा दायर रिट हालसम्म विचाराधीन छ ।
उक्त रिटमा टेकेर सरकार ढाल्नेसम्मका गतिविधिमा पूर्वप्रधानन्यायाधीश राणा सक्रिय रहेको र त्यस कार्यका लागि एआईजी दाहाल सहयोगी भूमिकामा रहेको कुरा खुलेको सशस्त्र स्रोतले जनाएको छ ।



प्रतिक्रिया