काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तर्गत महामन्त्री र उपसभापति पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । संशोधित विधानअनुसार महामन्त्रीमा एक महिलासहित तीन जना निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन समितिका अनुसार उपसभापति पदमा हालसम्म १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नयाँ विधानअनुसार कांग्रेसमा एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थप गरिएको छ ।
उपसभापतिमा उम्मेदवारी दिनेहरूमा विनोदकुमार चौधरी, फरमुल्लाह मंसुर, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, जीवन परियार, प्राडा. चन्द्रमोहन यादव, ई. मधु आचार्य, गोविन्द भट्टराई, मिनेन्द्र रिजाल, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ र देवराज चालिसे रहेका छन् ।
त्यस्तै, महामन्त्री पदमा हालसम्म ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिनेहरूमा डा. डिला संग्रौला (पन्त), शंकर तिवारी, डा. सुनीलकुमार शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, महालक्ष्मी उपाध्याय (डिना), अमरसिंह पुन, रिता खनाल र गुरुराज घिमिरे रहेका छन् ।
नयाँ नेतृत्व चयनका लागि काठमाडौंको राष्ट्रिय सभागृहमा निर्वाचन प्रक्रिया चलिरहेको छ । यस क्रममा शेखर कोइरालाको समूहमा रहेका धनराज गुरुङले पनि उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनी कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएसँगै संस्थापन पक्षमा खुलेका थिए ।
महामन्त्री र उपसभापति पदमा उम्मेदवारी दर्ता गर्नेहरूको संख्या अझै बढ्न सक्ने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया