काठमाडौं । यमनमा सक्रिय हुथी विद्रोही समूहले अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई साउदी अरेबियाको हवाई क्षेत्र प्रयोग नगर्न चेतावनी दिएको छ। साउदीको आकाश ‘कारबाहीको क्षेत्र’ बन्न सक्ने भन्दै हुथीले यस्तो चेतावनी दिएको हो।
हुथीद्वारा सञ्चालित ‘ह्युम्यानिटेरियन अपरेसन कोअर्डिनेसन सेन्टर’ले टेलिभिजन च्यानल अल–मसिराहमार्फत विज्ञप्ति जारी गर्दै नागरिक उड्डयन तथा यात्रुको सुरक्षालाई ध्यानमा राखेर साउदी हवाई क्षेत्रबाट उडान नगर्न आग्रह गरेको जनाएको छ।
हुथीले साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा निरन्तर हवाई आक्रमण गरिरहेको दाबी गरेको छ। त्यसका कारण साउदीको हवाई क्षेत्र नागरिक उड्डयनका लागि असुरक्षित बन्दै गएको उसको भनाइ छ।
यद्यपि, सम्भावित कारबाही कहिले र कहाँ हुन सक्ने तथा कुन हवाईमार्ग वा विमानस्थल प्रभावित हुने भन्नेबारे हुथीले कुनै स्पष्ट जानकारी दिएको छैन।
यमनमा सैन्य तनाव बढिरहेका बेला हुथीको यस्तो चेतावनी आएको हो। साउदी नेतृत्वको गठबन्धनले सोमबारदेखि हुथीविरुद्ध व्यापक हवाई कारबाही सुरु गरेको छ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारका सेनाले हुथीको नियन्त्रणमा रहेको राजधानी साना पुनः कब्जा गर्ने उद्देश्यसहित ‘रणनीतिक आक्रामक कारबाही’ सुरु गरेको घोषणा गरेका छन्।
गठबन्धनले ‘अपरेसन डन अफ यमन’ अन्तर्गत १०० वटा लडाकु विमान परिचालन गरिएको दाबी गरेको छ। अभियान सुरु भएयता हुथीका ३२४ वटा सैन्य लक्ष्य नष्ट गरिएको पनि गठबन्धनको दाबी छ।



प्रतिक्रिया