जबरालाई पक्राउ गर्ने एसएसपी खड्काको बयान : आदेश पालना गरेको हुँ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष बयान दिएका छन्।

आयोगले जबरालाई भेट्न नदिएको विषयमा समेत एसएसपी खड्कासँग सोधपुछ गरेको हो। आइतबार मध्यराति एसपी खड्काकै नेतृत्वमा खटिएको प्रहरी टोलीले जबरालाई महाराजगन्जस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो।

आयोगसमक्ष बयान दिने क्रममा एसएसपी खड्काले आफूले ‘आदेश पालना गरेको’ बताएका छन्। उनले आफूले गरेका सबै काम सम्बन्धित आदेशअनुसार नै भएको दाबी गरेका छन्।

आयोगमा कार्यरत उपसचिवस्तरकी अनुसन्धान अधिकृतले खड्कासँग बयान लिएकी थिइन्। केहीबेर बयान दिएपछि उनी आयोगबाट बाहिरिएका छन्।

आयोग स्रोतका अनुसार घटनाबारे अनुसन्धान जारी रहेकाले खड्कासँग प्रारम्भिक चरणको बयान मात्र लिइएको हो। अनुसन्धानका क्रममा आवश्यकताअनुसार अन्य व्यक्ति तथा सम्बन्धित निकायसँग पनि सोधपुछ हुन सक्ने स्रोतले जनाएको छ।

जबरालाई शनिबार रातिदेखि आइतबार अपराह्नसम्म काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नियन्त्रणमा राखिएको थियो। पूर्वसंवैधानिक पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा अनुगमन गर्न आयोगको टोली कार्यालय पुगे पनि जबरालाई भेट्न अनुमति दिइएको थिएन।

आयोग स्रोतले जबरालाई पक्राउ गर्नुको आधार र आयोगको अनुगमनका क्रममा उनलाई भेट्न नदिइएको विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ।

‘पूर्वप्रधानन्यायाधीशको बिनाकारण पक्राउ र आयोगले अनुगमन गर्न जाँदा सम्बन्धित व्यक्तिलाई भेट्ने अनुमति नदिइनु गम्भीर घटना हो, त्यसबारे अनुसन्धान जारी छ,’ आयोग स्रोतले भन्यो।

आयोगले घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार