कोशी प्रदेशमा पुनः मन्त्रिपरिषद् विस्तार

काठमाडौं । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार चार जना मन्त्री थप गरेका हुन् । उनले मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् ।

योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ९ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्री, पाँच मन्त्री र तीन जना राज्यमन्त्री छन् ।

कार्कीले सोमबार नियुक्त गरेका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री, रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।

यसअघि नै नियुक्त मन्त्रीहरु तिलकुमार मेन्याङ्बो स्वास्थ्य, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालय राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि मेन्याङ्बो खानेपानी, सिँचाइ तथा उर्जामन्त्री रहेका थिए । उनीहरुलाई प्रदेश प्रमुख कार्यालयमा शपथको गराइएको छ ।

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त एमाले नेता कार्कीले असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

हालसम्म एमाले नेतृत्वको सरकारमा अन्य कुनै दल सामेल भएका छैनन् । अहिलेसम्म साथ दिँदै आएको राप्रपाले समेत सरकारमा सहभागी बन्न इन्कार गरेपछि मुख्यमन्त्री कार्कीले एमालेबाट मात्रै मन्त्री नियुक्त गरेका हुन्।

प्रतिक्रिया