काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले वामगठबन्धन छाडेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु र सरकारमा जानु भुल भएको बताएका छन् ।
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘विगतको संसदीय निर्वाचनमा पार्टीले पराजय भोग्नुमा भूराजनीति होइन, आन्तरिक कारण हो । भूराजनीतिक सन्तुलन मिलाउने दायित्व पनि हाम्रै हातमा थियो र छ,’ उनले भनेका छन्, ‘भूराजनीति देखाएर हाम्रा तमाम कमजोरी ढाकछोप गर्ने कुराले पार्टी बलियो बन्न सक्दैन र पार्टीले आगामी चुनौती सामना गर्ने सामर्थ्य निर्माण पनि गर्न सक्दैन । नेतृत्वको अभिव्यक्तिको शैली, कार्यशैली जनप्रिय हुन नसक्नु र नेतृत्वले अभिव्यक्ति दिँदा संयमता अपनाउन नसक्दा जनतामा नैरास्यता बढ्यो,’ उनले भने, ‘पार्टी सरकारको नेतृत्वमा रहँदा सरकारले गरेका कामबाट शिक्षक, कर्मचारी, किसान, भूमिहीन, युवा पार्टीसँग असन्तुष्ट बनेका थिए ।’
उनले सत्ता परिवर्तन भइरहने काममा पार्टीले औचित्य पुष्टि गर्न नसकेको बताए । उनले भने, ‘बामपन्थी गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गरेपछि गठबन्धन संविधान संशोधनका लागि थियो भनियो तर संविधान संशोधनका निम्ति कार्यदल समेत बनाइन ।’
उनले सरकारमा रहँदा मुलुकमा सुशासन र सेवा प्रवाहमा जनताको अपेक्षाअनुरुप काम नभएको बताए । ‘संगठनात्मक क्षेत्रमा, नीतिगत क्षेत्रमा र कार्यशैलीको रूपान्तरणका सम्बन्धमा गम्भीर रूपले आत्मसमीक्षा गर्नु पर्दछ,’ उनले भने, ‘एमालेको निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन कार्यदलले सहमतिमा तयार गरेको प्रतिवेदनलाई पार्टीले स्वीकार गर्दै त्यसलाई कार्यान्वयन गर्ने काममा पार्टीको नेतृत्व तयार हुनु पर्छ।’


प्रतिक्रिया