नेपाल-चीनबीच ताक्लाकोटमा छलफल, के भयो सहमति ?

 

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्भावित जोखिमयुक्त हिमतालबाट हुनसक्ने प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि चिनियाँ भू–भागमा रहेका पाँच वटा हिमतालको प्राविधिक अध्ययन गर्न दुवै देशका स्थानीय अधिकारीले पहल गर्ने सहमति गरेका छन्।

चीनको ताक्लाकोटमा हालै भएको छलफलमा हिमतालबाट नेपालतर्फ पर्नसक्ने जोखिम, सीमा व्यवस्थापन, व्यापार तथा पूर्वाधारलगायतका विषयमा छलफल भएको हो।

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार चिनियाँ भू–भागमा रहेका लेक राक्षस, लेक मानसरोवर, गोन्जुका, आवुका र सिरिमाललगायतका तालको अवस्था, पानीको मात्रा, जोखिमको सम्भावना तथा त्यसबाट नेपालतर्फ पर्नसक्ने प्रभावबारे प्राविधिक अध्ययन आवश्यक रहेको विषय उठाइएको थियो।

सम्भावित हिमताल विस्फोट वा अन्य प्राकृतिक जोखिमबाट हुम्लाको हिल्सा, किटलगायत सीमा क्षेत्र प्रभावित हुनसक्ने भएकाले स्याटलाइट प्रविधिमार्फत नियमित निगरानी, मौसम तथा हिमपातसम्बन्धी सूचना आदानप्रदान र जोखिम देखिएमा समयमै जानकारी गराउने प्रणाली विकास गर्ने विषयमा समेत छलफल भएको छ।

छलफलमा सीमा स्तम्भको मर्मत, सीमापास, कृषि तथा पशुजन्य वस्तुको निर्यात, सीमा हाटबजार, हिल्सा–सिमकोट सडक तथा हिल्सास्थित मितेरी पुल सञ्चालनलगायतका विषय पनि उठाइएको थियो। नेपालले तीन वटा सीमा स्तम्भ मर्मत गर्नुपर्ने विषय चिनियाँ पक्षसमक्ष राखेको छ।

त्यस्तै, हिल्सा–सिमकोट सडकलाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत अघि बढाउन सकिने विषयमा पनि छलफल भएको जनाइएको छ।

नेपाल–चीन सीमा क्षेत्रसँग सम्बन्धित विषयमा नियमित समन्वयका लागि हुम्ला जिल्ला प्रशासन कार्यालय र ताक्लाकोटका अधिकारीबीच इमेलमार्फत सूचना तथा विषय आदानप्रदान गर्ने सहमति भएको छ। स्थानीयस्तरबाट समाधान गर्न सकिने विषय स्थानीय अधिकारीबीचको समन्वयबाट र नीतिगत विषय संघीय सरकारमार्फत अघि बढाउने सहमति भएको प्रजिअ गुरागाईंले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार