धनुषाका ३८८ परिवारले पाए नापजाँच सम्पन्न भएको ९ वर्षपछि लालपुर्जा

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१, साविक रमदैया भवाडी गाविसका वडा नं. २, ३, ४, ६, ७ र ८ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा अर्थात् लालपुर्जा प्राप्त गरेका छन्।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयवासीले अब आफूले भोगचलन गर्दै आएको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।

नापी कार्यालय धनुषाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि ३८८ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

उक्त क्षेत्रको जग्गा नापजाँचको काम २०७४ सालमै सम्पन्न भएको थियो। नापनक्सा सम्पन्न भए पनि त्यसपछिका आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासीले लामो समयसम्म लालपुर्जा पाउन सकेका थिएनन्।

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले ३८८ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो। लालपुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व कानुनी रूपमा स्थापित भएको छ।

जग्गा दर्ता भएर लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीले त्यसबाट विभिन्न कानुनी तथा आर्थिक लाभ लिन सक्नेछन्। लालपुर्जाको आधारमा जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने तथा जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद समाधान गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअघि पनि धनुषामा ३ हजार ९ सय ६६ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार