नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन अर्पण गर्दै १५औँ महाधिवेशनलाई अग्रजहरूले देखाएको निष्ठा र लोकतान्त्रिक आदर्श पुनः स्थापित गर्ने अवसरका रूपमा लिन आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै सभापति थापाले यस्तो आह्वान गरेका हुन् ।
सो क्रममा उनले लोकतन्त्रका लागि जीवन समर्पण गर्ने गणेशमान सिंह कठिन परिस्थितिमा पनि अडानबाट विचलित नहुने साहसी, त्यागी र निष्ठावान् नेता भएको स्मरण गरेका छन्।
“हामी १५औँ महाधिवेशनको यात्रामा छौँ। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई सङ्गठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो,” थापाले भनेका छन्।
समय र चुनौती फेरिए पनि लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको उनको भनाइ छ। सभापति थापाले गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।



प्रतिक्रिया