काठमाडौं । युक्रेनको निप्रोपेत्रोभ्स्क क्षेत्रमा पर्ने पावलोह्राद सहरको एउटा सपिङ मलमा रुसी ड्रोन आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य ६७ जना घाइते भएका छन्।
युक्रेनका गृहमन्त्री इभान विहिभ्स्कीले दिनको समयमा भएको उक्त आक्रमणमा पसल तथा सवारीसाधनहरू समेत क्षतिग्रस्त भएको बताएका छन्। युक्रेनी सञ्चारमाध्यमका अनुसार यसै साताको सुरुवातमा जापोरिजिया र सुमी सहरका थप दुई सपिङ मललाई पनि रुसी हवाई आक्रमणको निशाना बनाइएको थियो।
रुसले बुधबार राति रिसोर्ट सहर सोचीमा युक्रेनले समुद्रबाट ड्रोन आक्रमण गरेको र त्यसमा २८ जना घाइते भएको जनाएको छ । रुसले युक्रेनी आक्रमणमा थप तीन जनाको मृत्यु भएको दाबी पनि गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साढे चार वर्षभन्दा बढी समयअघि युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुस र युक्रेनबीच पूर्ण युद्ध जारी छ।
आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएका दूतहरूको नयाँ शान्ति पहलबाट तत्काल ठोस परिणाम आउने संकेत भने देखिएको छैन। ती दूतहरूले मस्कोमा पुटिन र कीएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गरेका थिए।





प्रतिक्रिया