गुण्डुबाट लखेट्न घर बेच्न दबाब दिए : शाक्य

 भदौ २३ र २४ गते नेपाली राजनीतिक इतिहासमा दर्ज   भएका  ऐतिहासिक दिन हुन् ।  तर, दुई दिनबारे बुझाइमा दुई धार देखिएका छन् । एक पक्षले भदौ २३ लाई स्मरण गर्न चाहँदैनन् भने अर्को पक्षले २४ ।  यसरी पक्ष र विपक्षमध्ये एकको नेतृत्व गर्नेमा  पूर्वप्रधानमन्त्री केपी शर्मा पनि एक हुन् ।  आन्दोलनका क्रममा उनीसहित राजधानीमा धेरै शीर्ष नेताको घरमा आगजनी भएको थियो । हामीले उनै ओली पत्नी राधिका शाक्यसँग भदौ २४ र बालकोटस्थित ओली निवास केन्द्रित भई कुराकानीमा गरेका छौँ । प्रतुस्त छ, उनै ओलीपत्नी राधिकासँग गरिएको कुराकानीको सम्पादित अशं उनकै शब्दमा ।   

यहाँबाट पनि हामीलाई स्थानीय जनताले लखेटुन् भनेर अनेकौँ हल्ला र मिडिया ट्रायल गरे । हाम्रो घरबेटी भाइलाई घर बेच्नसम्मको दबाब दिए । यति बेला मेरो जवाफ थियो, बरु घर खानतलासी तयार छौँ, तर यहाँबाट भाग्दैनौँ । किनकि हामीले कुनै कसुर गरेका छैनौँ । दिन-रात जेनजीले घर घेर्न आउँदै छ भनेर हल्ला गरे । यस्तो एउटा विषम परिस्थितिमा यो खरानी ग्याङले उहाँलाई धेरै वर्ष अगाडिदेखि सरकारको तर्फबाट दिइरहेका सेक्युरिटीहरू सबैलाई फिर्ता गरेर केही मात्रै राखिएको छ । उहाँहरूले सकेको भए त त्यति पनि राख्ने थिएनन् होला ।

हामीसँग स्वदेशी र विदेशी मित्रहरूले उपहारस्वरूप दिएका सामानहरूबारे धेरैलाई थाहा हुने कुरा भएन । ती सबै सामानको सजावट मेरै हातबाट मात्र हुन्थ्यो ।

जब मेरा घर र त्यसभित्रका अनगिन्ती र अनमोल सामानहरू नष्ट गरियो र लुटिएर लगियो, तब मेरो दिमाग र मनले सोच्यो कि आज मेरो दिमागमा मात्र कैद भएका यी तस्बिरहरू अहिले मेरा सन्तानहरू, नातागोताहरू, साथी सङ्गीहरू र हामीलाई माया गर्ने, सहयोग गर्ने तमाम नेपालीहरूलाई यस कुराको हस्तान्तरण गर्नु, जानकारी दिनु आवश्यक लागेर एउटा सानो पुस्तक पनि प्रकाशन गरेको छु ।

तपाईँहरू धेरैलाई थाहा छ कि घर आँगन, यहाँ भित्र सजाइएका अनगिन्ती अमूल्य वस्तुहरू चाहे हाम्रो कमाइले किनेको होस् या देशभरिका शुभेच्छुकहरूले मायाको चिनोको रूपमा दिएका सामानहरू, विभिन्न मित्र राष्ट्रहरूबाट प्राप्त हुन आएका सामानहरू हाम्रो शेषपछि राष्ट्रको नाममा हस्तान्तरण गरिसकेको छु । यी सारा सामानहरूले गर्दा मलाई हामीजस्तो धनी अरू छैन कि जस्तो लाग्थ्यो । हुन पनि हामीसँग भएजत्तिको उपहार सायद नेपालमा सम्भव पनि नहोला । यी सारा चीजहरूलाई आकर्षक रूपमा सजाएर उत्कृष्ट खालको सङ्ग्रहालय नयाँ पुस्तालाई सुम्पेर जाने पवित्र इच्छा राखेर मैले सयौँ हजारौँ घण्टासमेत खर्च गरेकी छु ।

हामीसँग भएका विविध विषयका दसौँ हजार पुस्तकलाई व्यवस्थित गरी एउटा पब्लिक पुस्तकालयसमेत नयाँ पुस्तालाई छोडेर जाने इच्छा थियो । तर आज यी सबै मेरा सपनाहरू पनि खरानीमा परिणत हुन पुगेको छ । ०८२ भदौ २४ मा हाम्रा घर-सम्पत्ति मात्र जलाउने योजना ‘खरानी ग्याङ’को थिएन होला । मूलतः केपी सरलाई नै सदाको लागि पन्छाउने पहिलो उद्देश्य यी अपराधी ग्याङको हुनु पर्छ । तर लाखौँ देशभक्त र इमानदार नेपालीहरूको माया, ममता, आशा र भरोसाको प्रतिफल हामी बच्न सफल भयौँ ।

गत साल नै हामीलाई मारेको भए आज यहाँ कालो दिवसको साथ साथै हाम्रो मृतिको वर्ष गाँठ पनि तपाईँहरूले मनाइरहेको अवस्था हुन्छ हुन्थ्यो । संयोगले हामी बच्यौँ र आज सबैसँग मिल्ने भेट्ने अवसर छुट्यो । धेरै खुसी लागेको छ । यी अपराधीहरूले ८२ भदौ २४ देखि आजको दिनसम्म पनि विभिन्न बहाना बनाएर हामीलाई मानसिक तनाव दिन खोजेका छैनन् । बिना अपराध, बिना कसुर अपराधी भनेर भ्रम छरिरहेकै छन् । एक थोपा रगत र एक मुठी सास रहेसम्म यो देशको सेवा गरौँला भन्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप र लाञ्छना लगाउन छाडेका छैनन् ।

भर्खरै देशले त्यत्रो ठूलो प्राकृतिक विनाशको सामना गर्नु परिरहेको छ । यस परिस्थितिमा हामी कति मर्माहत छौँ भन्ने कुरा यी मानवताविहीन ग्याङलाई के थाहा ? यसमा पनि केपी ओली माथि नाना थरीको आरोप लगाएर झ्याली पिटिरहेका छन् । यिनीहरूलाई जे-जे गर्न र भन्न मन लाग्छ गरिरहुन्, भनिरहुन् तर हामी आफ्नो कर्तव्य पथबाट कहिल्यै पनि पछि हट्ने छैनौँ ।

यो वर्ष भरिमा मात्र जेनजी नामको खरानी सरकारले हामीमाथि गरेका जघन्य अपराध र अत्याचारको बारेमा सविस्तार व्याख्या गर्ने हो भने धेरै समय लाग्छ । तर म त्यो समय लिन चाहन्न । दुई चार वटा कुरा मात्र यहाँ राख्न चाहन्छु । ८२ असोज गते १० दिनको सेनाको ब्यारेक भित्रको बसाइपछि हामी गुण्डु आइपुग्यौँ । यो ठाउँ पनि सूर्यविनायक नगरपालिका ७ नम्बर वडामा पर्दछ । पहिलेको भक्तपुर २ नम्बर वडामा छ ।

यहाँबाट पनि हामीलाई स्थानीय जनताले लखेटुन् भनेर अनेकौँ हल्ला र मिडिया ट्रायल गरे । हाम्रो घरबेटी भाइलाई घर बेच्नसम्मको दबाब दिए । यति बेला मेरो जवाफ थियो, बरु घर खानतलासी तयार छौँ, तर यहाँबाट भाग्दैनौँ । किनकि हामीले कुनै कसुर गरेका छैनौँ । दिन-रात जेनजीले घर घेर्न आउँदै छ भनेर हल्ला गरे । यस्तो एउटा विषम परिस्थितिमा यो खरानी ग्याङले उहाँलाई धेरै वर्ष अगाडिदेखि सरकारको तर्फबाट दिइरहेका सेक्युरिटीहरू सबैलाई फिर्ता गरेर केही मात्रै राखिएको छ । उहाँहरूले सकेको भए त त्यति पनि राख्ने थिएनन् होला ।

तर म गर्व गर्छु । मलाई खुसी लागेको छ कि हाम्रो सुरक्षा जनताले गर्नुभएको छ । मूलतः भक्तपुर जिल्लाबासीहरूले दिनरात पालैपालो गरेर सयौँको संख्यामा हाम्रो वरपर बसेर सुरक्षा प्रदान गर्नुभयो । ती सम्पूर्ण देशभक्त नेपालीहरूलाई म आजको दिन धेरै-धेरै आभार व्यक्त गर्न चाहन्छु र धेरै-धेरै धन्यवाद दिन चाहन्छु ।

केपी सरलाई उपत्यकाबाट बाहिर जान रोक लगाइयो। विदेश जान्छ कि भनेर पासपोर्ट रोक्काको हल्ला फैलाइयो । गौरीबहादुर कार्की नामको आयोगको हौवा दिएर दिनरात धरपकडको हल्ला मच्चाइयो । तर सुशीला कार्कीको जेनजी सरकारले हल्ला जति चलाए पनि उसको गृहमन्त्री ओमप्रकाश अर्याल हाम्रो क्षेत्रमा उत्रन सकेन । किनकि उसलाई फागुन २१ को चुनावको नाटक मञ्चन गरेर खरानी ग्याङलाई वैधता दिनु थियो ।

चुनावपछि टीओबी ग्याङ, खरानी ग्याङ आदिको नेतृत्वमा गठन भएको सरकारको पहिलो निर्णय नै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने । दिउँसो सुधन गुरुङ भन्ने गृहमन्त्रीमा नियुक्त भयो भने भन्ने कुरा सुन्नासाथ मैले त शंका गरेको थिएँ । अब तुरुन्तै यिनीहरूले केपी सरलाई गिरफ्तार गर्छन् भन्ने लागेको थियो । नभन्दै पुलिस फोर्स जम्मा गरेर रातको समयमा सिङ्गो गाउँ कब्जा गरेर केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरी प्रतिशोधको राजनीति गरे ।

यसैबीच घर खानतलासीको हल्ला फैलाएर आतंक सिर्जना गरियो । हाम्रो घर खानतलासी गराउन हामीलाई कुनै पनि आपत्ति छैन । तर यी अपराधीहरूले विभिन्न ठाउँबाट विभिन्न सामानहरू लुटेर फलानोको घरबाट प्राप्त भयो भनेर हल्ला मच्चाउँछन् भन्ने लाग्यो । त्यति बेला म र केपी सर हस्पिटलमा थियौँ । मैले घर परिवारका मान्छेहरूलाई उनीहरू खानतलासीका लागि आएको खण्डमा आउन दिनु तर पहिले उनीहरूका सबै सामान चेक गर्नु, उनीहरूको जिउ चेक गर्नु,  कुनै पनि कपडा, कुनै पनि ज्याकेटको खानतलासी लिएर उनीहरूलाई घरभित्र पठाउनु भनेर म तुरुन्तै फेरि अस्पतालमा गए ।

उहाँको गिरफ्तारपछि २१/२२ दिन अस्पताल बस्नु परिहाल्यो । उहाँको पित्त थैलीमा स्टोन छ भन्ने कुरा थाहा त हामीलाई पहिले नै थियो । तर समयको व्यस्तताले गर्दा त्यो चेक गराउन पाइराखेको थिएन । पछि म अस्पताल लगेपछि चेक जाँच गराउँदा त्यो अप्रेसन गर्न एकदम ढिलाइ भइसकेको अवस्थामा रहेछ । केपी ओलीको स्वास्थ्य बारेमा पनि मैले किताब लेखेकी छु । तपाईँहरू सबैलाई थाहा पनि छ ।

अप्रेसन गर्न जरुरी छ, तर हाइ रिस्क हुन्छ भनेर डाक्टरहरूले अप्रेसनको डेटसम्म दिन गाह्रो भइराखेको अवस्था थियो । तर पछि उहाँ नै नियमित रूपमा हेर्ने किड्नीको डाक्टर दिव्या साह त्यति बेला घर बाहिर हुनुहुन्थ्यो र उहाँ फर्केर आएपछि मात्र सबै डाक्टरहरूको सहमति र छलफलपछि उहाँको स्टोन निकाल्ने अप्रेसन गरियो । यसपालि नेपालको अस्पतालमा पनि २१/२२ दिन अस्पताल बस्नुपर्ने बाध्यता रह्यो ।

चुनावअघि मंसिरमा नेकपा एमालेको ११ औँ महाधिवेशनको चाप पनि खेप्नुपर्‍यो । घरबार विहीन अवस्थामा ससुराको बिरामी अवस्था र फागुन २९ गते उहाँको निधन भएपछि शोकको अवस्था पनि बेहोर्न पर्‍यो । केपी ओलीको नामसँग जोडिएको भनेर बालकोट झापा र आठराईका घरहरू जलाइयो । मूलतः मैले कति दुःख र अप्ठ्यारासँग जुझ्न परिरहेको छ भन्ने कुराको पनि एउटा राम्रो पाठ सिकेकी छु ।

१० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङका सयौँ, हजारौँ घरहरू डुबाए, बगाए । त्यहाँ कैयौँ हजारौँ मान्छे घरबार विहीन भए । म आफू पनि हालको अवस्थामा घरबार विहीन नै भएर बसेको हुनाले यी मान्छेहरूलाई कस्तो पिडा भएको होला भन्ने कुरो मैले राम्ररी मनन गर्न, उहाँहरूको पिडा बुझ्न म सक्षम छु भन्ने लाग्यो । तर तपाईँहरूले एउटा भाइरल भएको एक जना भिडिओ अनि त्यसमा गरेका अनेकौँ कमेन्टहरू पनि सुन्नु भएको छ, हेर्नु भएको छ, पढ्नु भएको छ । अनि यस्ता मान्छेहरूलाई खै कसरी नेपाली भनौँ र ? नेपालीको मन त त्यस्तो हुनु नपर्ने जस्तो मलाई लाग्छ ।

आज एक वर्ष बित्यो यी मेरा एकदमै पवित्र घरहरूलाई यस्तो रूपमा परिणत गरिसकेको । यो घर के हो ? कसरी बन्यो ? किन बन्यो ? यी घरभित्र के-कस्ता सामानहरू थिए ? भन्ने कुरा मेरो सम्झनामा भएसम्मका कुराहरू एउटा शब्द चित्रको रूपमा कोरेकी छु । देशी-विदेशी प्रतिक्रियावादीले केपी ओलीलाई शत्रु मानेकोमा मलाई अनौठो लाग्दैन । तर नेपाली भनिने नेपाली नागरिकता लिएका व्यक्तिहरूले समेत केपी ओलीमाथि जुन खालको प्रहार भयो, यो देख्दा र सुन्दा अब के शब्दले म यहाँ व्यक्त गरौँ ?

प्रतिक्रिया