काठमाडौं । नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेष बनेका भवनमा अनधिकृत रूपमा प्रवेश गरी आपराधिक गतिविधि नगर्न चेतावनी दिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले उद्धारको नाममा क्षतिग्रस्त घर तथा भवनमा अनधिकृत रूपमा प्रवेश गर्न नपाइने बताए।
प्रहरीको उपस्थितिमा मात्रै क्षतिग्रस्त घर तथा भवनभित्र खोज तथा तलासी गर्न पाइनेछ । विपद्को फाइदा उठाउँदै कानुनले वर्जित गरेका गतिविधि गर्ने व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको उनको भनाइ छ ।
आपराधिक मनसाय भएका व्यक्ति भग्नावशेष तथा खण्डहर भवनमा प्रवेश गरेको देखिए तत्काल प्रहरीलाई खबर गर्न समेत सबैमा आग्रह गरेको छ । ”बाढीबाट भग्नावशेष तथा खण्डहर भवनहरू जुन रहेका छन्, ती भवनहरूमा अनावश्यक रूपमा,अनाधिकृत रूपमा छिर्न कानुनद्वारा वर्जित छ। रेस्क्युको नाममा गलत गतिविधि गर्न पाइँदैन, कानुन उल्लङ्घन गर्न पाइँदैन । त्यस्ता आपराधिक मनसायका व्यक्तिहरू पनि त्यहाँ छिरे प्रहरीलाई खबर गर्न समेत नागरिकलाई आग्रह गरिएको छ,” उनले भने ।
विपद्का सम्बन्धमा गलत तथा मिथ्या सूचना फैलाउने गतिविधिमाथि समेत प्रहरीले निगरानी गरिरहेको उनको भनाइ छ । मिथ्या सूचना फैलाएको पाइए कानूनबमोजिम कारबाही गरिने उनले बताए। राहत सामग्री वितरणका नाममा भइरहेका गतिविधिलाई समेत एकद्वार प्रणालीअनुसार सञ्चालन गर्न उनले आग्रह गरेका छन् ।
सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिसकेकाले स्थानीय तह र जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर मात्रै राहत वितरण गर्न समेत प्रवक्ता काफ्लेले आग्रह गरे ।

प्रतिक्रिया