देउवा पक्षले थाल्यो समानान्तर महाधिवेशनको तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको शेरबहादुर देउवा पक्षले अपेक्षाअनुसार अन्तरकालीन आदेश नपाएपछि समानान्तर महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।

कांग्रेस केन्द्रीय समितिले असोजमा १५औँ महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेपछि देउवा पक्ष महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको थियो। देउवा र नेता पूर्णबहादुर खड्काले भदौ २ गते छुट्टाछुट्टै पूरक निवेदन दिएका थिए, जुन भदौ ३ गते दर्ता भएको थियो।

उक्त निवेदनमाथि भदौ ११ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले अन्तरकालीन आदेश दिन अस्वीकार गरेको थियो। न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगविरुद्ध देउवा र खड्काले दायर गरेको रिटमा तत्काल महाधिवेशन रोक्ने आदेश आवश्यक नरहेको निष्कर्ष निकालेको हो।

यसअघि वैशाख ४ गते रिट खारेज गर्ने निर्णय भएको थियो। सर्वोच्चले निवेदक तथा विपक्षीलाई कुनै काम–कारबाही रोक्न वा निर्णय गर्न विशेष आदेश दिनुपर्ने अवस्था नदेखिएको उल्लेख गरेको छ।

सर्वोच्चबाट महाधिवेशन रोक्ने आदेश नआएपछि कांग्रेसभित्र १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन सहज भएको छ। यससँगै संस्थापनइतर पक्षले पनि आफ्नो समानान्तर महाधिवेशनको संगठनात्मक तयारीलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार