काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जम्मा गर्न चाहने विदेशी दाताहरूका लागि विभिन्न सहज माध्यमहरूको व्यवस्था गरेको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै कोषमा रकम जम्मा गर्ने प्रक्रिया र बैंक खाताहरूको विवरण सार्वजनिक गरेको छ ।
यसअघि स्वदेशभित्रबाट बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको व्यवस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सह्योग गर्न बैंक र खाता नम्बर सार्वजनिक भैसकेको छ । यससँगै कोषमा डिजिटल माध्यमबाट पठाइने राहत रकमको अधिकतम कारोबार सीमा हटाएर जतिसुकै पठाउन सकिने बाटलो खुलाइसकेको छ ।
यससँगै राष्ट्र बैंकले विदेशबाट सहयोग पठाउने विभिन्न विकल्पहरू सहज बनाएको छ । जसले विदेशमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली तथा विदेशी संघ–संस्थाहरूले विभिन्न माध्यमबाट सहयोग पठाउन सक्नेछन् । उनीहरूले अमेरिकी डलरमा सहयोग पठाउन हिमालयन बैंक (स्विफ्ट कोड : हिमानपिकेए)को प्रयोग गर्न सकिन्छ । अन्य नेपाली बैंकहरूका लागि पनि छुट्टाछुट्टै स्विफ्ट कोड र खाता नम्बरहरू उपलब्ध गराइएको छ ।
यस्तै, विदेशबाट रेमिट्यान्स च्यानलबाट पनि सहयोग पठाउन सक्छन् । जसमा जीएमई, रेमिट्ली, वाइज्, ट्यापट्याप सेन्ड लगायतका एपहरू र रेमिट्यान्स कम्पनीका साझेदारहरूमार्फत तोकिएका बैंक खातामा रकम पठाउन सकिनेछ ।
यसैगरी विदेशमा भएकाहरूले भुक्तानी कार्ड प्रयोग गरेर पनि बाढीपीडितलाई नेपालमा आर्थिक सहयोग पठाउन सक्छन् । विदेशमा जारी भएका क्रेडिट वा डेबिट कार्डहरू प्रयोग गरी https://pmdrf.nchl.com.np/ र https://pmrelieffund.himalayanbank.com.np मार्फत सहयोग रकम पठाउन सकिने व्यवस्था गरिएको छ ।
डिजिटल वालेट र क्यूआर कोडको प्रयोग
अन्तराष्ट्रियस्तरमा प्रचलित अलिपे+ सञ्जालमा आबद्ध विभिन्न वालेटहरू प्रयोग गरी https://pmdrf.nchl.com.np/ सहयाेग रकम पठाउन सकिने व्यवस्था गरिएको छ । साथै, भारतबाट सहयोग गर्न चाहनेहरूले युनिफाइड पेमेन्ट ईन्टरफेस (यूपीआई)मार्फत राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको क्यूआर कोड स्क्यान गरी सहजै रकम जम्मा गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले खातामा रकम पठाउँदा उल्लेखित खाताको नाम र नम्बर यकिन गरेर मात्र पठाउन सबैमा अनुरोध गरेको बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीले जनाएका छन् ।
स्वदेशभित्रबाट सहयोग गर्ने तरिका
नेपालभित्र रहेका व्यक्ति तथा संस्थाहरूले नगद, चेक, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट तथा क्यूआर स्क्यानमार्फत सिधै तोकिएका बैंक खाताहरूमा रकम जम्मा गर्न सक्नेछन् । यसका लागि राष्ट्र बैंकले सातवटा प्रमुख बैंकहरूमा रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष नामका खाताहरू तोकेको छ ।
देशभित्रबाट सहयोग जम्मा गर्न सकिने बैंक र खाता नम्बरहरूमा क्रमशः स्ट्यान्डर्ड चार्टर्ड बैंक ०१०१३२४३८०१ र ०२०१३२४३८०१, राष्ट्रिय वाणिज्य बैंक ११३०१००००३७६२००१, एभरेष्ट बैंक ००१००१०५२००२७० र ००१०११०२२०००१२, नेपाल बैंक ००२११६००५१००३९०००००३ र ००२००१००५१००३९०००००१, ग्लोबल आइएमई बैंक ००४०१०१०००००५७ र ००४११०१००००००५, नबिल बैंक १७१००१७५०५२८५ र कृषि विकास बैंक ०१००२०१००२९०७०१४ रहेको छ ।

प्रतिक्रिया