काठमाडौं । रसुवाको भोटकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धार कार्यक्रममा इच्छा प्रकट गरेका अन्तर्राष्ट्रिय टोलीलाई स्वीकृति नदिएको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले आन्तरिक क्षमतामै विश्वास रहेकाले उद्धारमा अन्तर्राष्ट्रिय टोलीलाई आमन्त्रण नगरिएको बताएका हुन्।
राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरेको उनले बताए । अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने र अनपेक्षित जोखिम पनि सिर्जना हुन सक्ने उनको भनाइ छ । “हाम्रो टोली सक्षम छ, हाम्रो भूगोलप्रति परिचित छ । हाम्रो सुरक्षा निकायहरू–सेना, प्रहरी र सशस्त्र प्रहरी-सबै यसमा लागिरहेका छन्,” उनले भने ।
आफ्नो राष्ट्रिय क्षमताले धान्न सक्ने अवस्थासम्म आफ्नै संयन्त्रबाट काम गर्नु स्वाभाविक भएको उनले बताए । ”जहाँ हामीलाई थप प्राविधिक क्षमता आवश्यक हुन्छ, त्यहाँ आवश्यकताअनुसार सहकार्य गर्छौँ,” मन्त्री खनालले भने ।
उनले यस सम्बन्धमा मित्रराष्ट्रहरूसँग सरकार निरन्तर संवाद र समन्वयमा रहेको जानकारी दिँदै आवश्यकताअनुसार प्राविधिक सहयोग लिने स्पष्ट नीति रहेको उल्लेख गरे । रासस


प्रतिक्रिया