चेम्बरका पूर्वअध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्ना सल्लाहकार परिषद्का अध्यक्ष, हिरक जयन्ती समारोह समितिका सभापति तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई सम्मान गरेको छ।

भियतनामका लागि अवैतनिक महावाणिज्यदूतसमेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेपछि त्यसको कदरस्वरूप चेम्बरले सम्मान गरेको हो।

सम्मान कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले श्रेष्ठको उपलब्धिले समग्र चेम्बर परिवारलाई गौरवान्वित बनाएको बताए। उनले नेपाल र भियतनामबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन श्रेष्ठले सेतुका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे।

अध्यक्ष अग्रवालले नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण उपलब्ध गराउनुका साथै दुई देशबीचको आपसी सहयोग अभिवृद्धिमा श्रेष्ठले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। उनको कूटनीतिक दक्षता र सक्रियताले चेम्बरको समेत प्रतिष्ठा बढाएको अग्रवालको भनाइ थियो।

सम्मान ग्रहण गर्दै पूर्वअध्यक्ष श्रेष्ठले नेपाल चेम्बर अफ कमर्सले आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा खुसी व्यक्त गरे। भियतनामको परराष्ट्र मन्त्रालयले आफ्नो योगदानको उच्च मूल्यांकन गर्दै ‘भियतनामको वैदेशिक सेवामा योगदान’ अन्तर्गत उक्त प्रतिष्ठित सम्मान प्रदान गरेको उनले जानकारी दिए।

भियतनामको परराष्ट्र मन्त्रालयले महावाणिज्यदूतहरूमध्ये अग्रस्थानमा राखेर प्रदान गरेको उक्त सम्मानले नेपाल–भियतनामबीचको सहकार्यलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन थप ऊर्जा मिलेको श्रेष्ठले बताए।

उनले नेपाल चेम्बर अफ कमर्सले नेपाल र भियतनामबीचको व्यापारिक सम्बन्ध विस्तार तथा लगानीका अवसर बढाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार