काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा बाराको सिमरामा जारी प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडकखण्ड अझै अवरुद्ध छ।
घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने लगायतका माग राख्दै स्थानीयले बुधबार दिउँसोदेखि सडकमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार सडक खुलाउने विषयमा बुधबार पटक–पटक छलफल भए पनि आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने विषयमा सहमति जुट्न सकेन।
उनका अनुसार बुधबार राति ११ बजेसम्म भएको छलफलमा प्रदर्शनकारीले डीएसपी क्षेत्रीलाई निलम्बन गर्नुपर्ने माग राखेका थिए। तर, उक्त माग जिल्ला प्रशासनको तहबाट सम्बोधन गर्न नसकिने भएकाले छलफल निष्कर्षविहीन भएको हो।
जीतपुरसिमरा उपमहानगरपालिका–१ की गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। तर, बालिका हराएको सूचना समयमै पाए पनि प्रहरीले खोजीमा आवश्यक गम्भीरता र समन्वय नगरेको स्थानीयको आरोप छ।
स्थानीयका अनुसार बालिका हराएको तीन दिनसम्म पनि प्रहरीले प्रभावकारी खोजी गर्न सकेन। परिवारले किटानी जाहेरी दिएका व्यक्तिमाथि समेत समयमै अनुसन्धान अघि नबढाएको आरोप उनीहरूले लगाएका छन्।
मंगलबार साँझ बालिकाको शव भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। तर, परिवारले शव भेटिनुअघि नै ती दुई जनाविरुद्ध किटानी जाहेरी दिएको दाबी गरेको छ।
घटनापछि स्थानीयले सिमरा प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्व परिवर्तनको मागसमेत अघि सारेका छन्। दोषीमाथि कडा कारबाही र प्रहरीको भूमिकामाथि छानबिन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ।



प्रतिक्रिया