फागुन २१ को निर्वाचन मत परिणामपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ताको नेतृत्व गरेको चार महिनामा रनिङ गरिरहेको छ । काठमाडौंका तत्कालीन मेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ नजिक मत प्राप्त गरेको छ । र, पूर्ववाचाअनुरुप सरकारको नेतृत्व बालेन र पार्टीको नेतृत्व रवि लामिछानेले गरिरहेका छन् । तर, प्रधानमन्त्री बालेन र सभापति रविबीच बेलाबेलामा खटपटको आशंका हुने गरेको छ । घुमाउरो किसिमले यी दुई पात्रबीच एकअर्कालाई लक्षित भवनात्मक असन्तुष्टि सामाजिक सञ्जाल र कार्यक्रममा मनतव्यका क्रममा क्रममा अभिव्यक्त हुने गरेका छन् ।
प्रस्तुत छ, प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच हुने गरेका लाक्षणिक असन्तुष्टि,रास्वपा सांसदको भूमिका र पार्टी मार्गनिर्देश, सरकारको कामकारबाहीलगायत समसामयिक विषयमा केन्द्रित सभापति लामिछाने र सञ्चारकर्मीबीच भएको संवादको सम्पादित अश :-
सभापति ज्यू, अहिले सांसदहरूको, मन्त्रीहरूको सदनमा, समितिमा, सडकमा पनि त्यति राम्रो देखिएको छैन कतिपयको । त्यो सन्दर्भमा तपाईंले संसदीय दलको बैठक आह्वान गर्नुभएको छ । यद्यपि संसदीय दलका नेता नआएपछि अनौपचारिक भन्न थाल्नुभयो । के भयो कुरा ?
संसदीय दलमा आज हाम्रो छलफल हो, संसदीय दलको बैठक होइन । हामीले बोलाउँदाखेरि नै छलफल र सभापतिले सांसदहरूसँग गर्ने छलफल कार्यक्रम भनेका छौँ । दलको बैठक हुँदैछ, त्यसमा दलको नेता आइहाल्नुहुन्छ, त्यसमा कुनै दुविधा छैन । तपाईंले भन्नुभएको जस्तो एउटा राजनीतिक दलभित्र र यति धेरै सांसदहरू भएको ठूलो राजनीतिक दलभित्र कहिले कसैको, कहिले कसैको कुनै न कुनै विषय बोल्दाखेरि कतिपय कुरा चिप्लन सक्ला, कतिपय यताउता हुन सक्ने सम्भावना हुन्छ ।
तर समग्रमा त्यस्तो होइन । कतिपय पत्रकार साथीहरूको समाचारहरू सही नहुन सक्छन् । कतिपयको हेडलाइन नै बिग्रिन्छ । त्यस्तै हामी पनि धेरै छौँ, धेरैले धेरै कुरा गर्दा एक-दुई जना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ र त्यसलाई सम्हाल्ने हामी गरिहाल्छौँ । त्यस्तो केही छैन ।
गुह्य उद्देश्य के हो त आजको छलफलको ?
मुख्य उद्देश्य भनेको संसदमा हाम्रो प्रस्तुतिलाई अझ प्रभावकारी र मर्यादित बनाउनु हो । संसदमा उठ्ने विषयवस्तु र हाम्रो प्रस्तुतिबारे नागरिक तह र पार्टी पंक्तिबाट केही प्रश्नहरू उठेका छन् ।
हामी सबै एकै ठाउँमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । सरकारको कार्यशैली, मन्त्रालय र मन्त्रीहरूका विषयमा केही असन्तुष्टि वा अस्पष्टता छन् कि भनेर हामीले आन्तरिक छलफल गरेका हौँ । संसदको मर्यादा कायम गर्ने जिम्मेवारी हाम्रो पनि हो । त्यसैले मर्यादित प्रस्तुति र नागरिकका समस्यालाई संसदमा प्रभावकारी ढंगले उठाउने विषयमा हामीबीच एउटा राम्रो समझदारी बनाउन यो छलफल गरिएको हो ।
अब यो संसदमा सांसदहरू, मन्त्रीहरूको कार्य-कारबाही अलिकति मर्यादित भएर, शिष्ट भएर जान्छ ?
यसलाई अझ राम्रो, अझ परिष्कृत गरौँ भनेर हामी गएको हुनाले कहिलेकाहीँ बेलाबेलामा ओरिएन्टेसन, छलफलहरूको आवश्यकता पर्छ नै । कतै कुनै अप्ठ्यारो भयो कि, छुटपुट त्यस्ता देखिरहेका छौँ नि हामीले, त्यसलाई पनि अझ समयमै सम्बोधन गर्न सकियो भने पक्कै पनि संसदलाई थप मर्यादित बनाउन सकिन्छ । हामी कुनै अमर्यादित भएको, बिग्रिएको, खतम भएको भन्ने हिसाबले होइन, तर नहोस् भोलि भन्नका लागि पनि कहिलेकाहीँ अगाडि नै ‘प्रिभेन्सन इज बेटर द्यान केयर’ भने जस्तो अगाडि नै छलफल गरिएको हो ।
संसदमा विपक्षी र अन्य क्षेत्रबाट मन्त्रीहरूको कामलाई लिएर प्रश्न उठिरहेका छन् । के रास्वपाले मन्त्रीहरू परिवर्तन गर्ने कुनै तयारी गरेको हो ?
मन्त्री फेर्ने कुनै पनि सम्भावना वा तयारी छैन । हाम्रा मन्त्रीहरूले सयवटा काम गर्दा त्यसमध्ये केहीमा प्रश्न उठ्नुलाई हामीले स्वाभाविक रूपमा लिएका छौँ । रास्वपाभित्र आफ्नो दलका मन्त्रीहरूलाई पनि प्रश्न सोध्ने एउटा लोकतान्त्रिक परिपाटी छ । त्यसैले यो छलफल मन्त्री फेर्नका लागि नभएर कामलाई थप प्रभावकारी बनाउनका लागि हो ।
हामीबीच कहिलेकाहीँ तपाईंहरू रमाइलोको लागि लेख्दिनु हुन्छ, ‘दुईजना बीचको धार नै अलग छ कि क्या हो, झगडै परेपछि क्या हो’ भन्नुहुन्छ, त्यो तपाईंहरूको समाचारले हामीलाई अझ बढी नजिक ल्याउन मद्दत गर्छ । त्यसकारणले यस्ता समाचार लेख्न नरोक्नुहोला ।
प्रधानमन्त्रीले ‘म एक्लो छु, एक्लै लडिरहेको छु’ भन्ने अभिव्यक्ति दिनुभएको छ । अर्कोतर्फ, महाधिवेशनपछि पनि तपाईंहरूले कार्यसमितिलाई पूर्णता दिन सक्नुभएको छैन । यसलाई कसरी लिने त ?
प्रधानमन्त्रीज्यू एउटा कवि र कलाकार पनि हुनुहुन्छ । कहिलेकाहीँ भावनात्मक रूपमा त्यस्तो महसुस हुन सक्छ, तर राजनीतिक रूपमा सिंगो पार्टी र म आफैँ उहाँसँगै उभिएको छु । त्यसैले उहाँ एक्लो हुनुहुन्न ।
जहाँसम्म केन्द्रीय समितिको कुरा छ, यो ५ वर्षभित्र पूर्णता दिने प्रक्रिया हो । महाधिवेशनपछि हामीले समायोजनका कामहरू सकिसकेका छौँ । योग्य साथीहरूलाई क्रमशः ल्याउने सिलसिला जारी छ । विधानले सभापतिलाई दिएको अधिकार प्रयोग गरेर उपयुक्त समयमा थप सदस्यहरू चयन गरिनेछ । यहाँ कुनै गुट वा विवाद छैन, हामी सबै एक ढिक्का छौँ ।
यो हामीले पाँच वर्षभित्र गर्ने कार्य भएको हुनाले साथीहरूलाई के बताउन चाहन्छु भने हामी यताको, उताको नाम आउने कतैको पनि छैन । रास्वपा एक हो । योग्य साथीहरूलाई क्रमशः ल्याउँदै जाने सिलसिलामा छौँ । भोलि चार जना गरौँला, पर्सी पाँचजना गरौँला, अर्को दिन १० जना गरौँला । नाम कसैले दिने नै होइन ।
पार्टीले छलफल गर्ने हो । मलाई प्रस्तावहरू विभिन्न साथीहरूले गर्नुहुन्छ । कुनै अर्को ठाउँले ‘हामी दुइटा धार छौँ’ अथवा ‘यता पक्षले दिने’ भन्ने त्यो बिल्कुल, बिल्कुल, बिल्कुल त्यसलाई कम्प्लिट्ली खारेज गर्नुहोला । त्यो चाहिँ कविता जस्तो भयो ।
समस्या कस्तो छ भने यो हामी पुरानो राजनीतिक अभ्यासमा सानो केही घटना भयो भने पनि त्यसको राजनीतिक अर्थ खोज्ने बानी भएका, हामीमा त्यो छैन । हामी नापेर जोखेर कुराकानी गर्दैनौँ । कहिलेकाहीँ हामीले गरेका कुराहरूले राजनीतिमा अलग अर्थ लाग्ने गर्दथ्यो पहिला । ‘यिनको पनि बिग्रियो कि, यिनको पनि सिद्धियो कि’ भन्ने तपाईंहरूलाई लाग्न सक्ला । त्यो साँच्चै नै मैले तपाईंलाई भनेको कुनै किसिमको समस्या छैन, हामीमा कुनै किसिमको कन्फ्युजन पनि छैन ।
हामीलाई जनताले दिएको म्यान्डेटमा हामी स्पष्ट छौँ । यो रविले बालेनलाई, बालेनले रविलाई गरेको बाचा होइन, इतिहासलाई र देशलाई हामीले सँगै बसेर गरेको बाचा हो । यहाँ यस्ता सामान्य कुराहरूले यत्रो राजनीतिक कमिटमेन्ट, यत्रो पोलिटिकल कमिटमेन्ट, यत्रो हिस्टोरिक कमिटमेन्टछ छ ! यो घरमा वा साथीभाइसँग सानो एउटा कुरामा कुरा नमिलेर परिवारसँग जिस्किएको र चलेको जस्तो विषय हो र ?
यो चल्ने विषय पनि होइन, चलाउने विषय पनि होइन साथी हो । यो सेन्सेटिभ विषय हो, हामी यसको सेन्सिटिभिटी बुझ्दछौँ, यसको संवेदनशीलता बुझ्दछौँ । त्यही संवेदनशीलता बुझेर इतिहासले हामीलाई दिएको जिम्मेवारी हो । ४ महिना भर्खर भएको छ, पाँचौँ महिनामा प्रवेश गर्दैछ । रमाइलोको लागि जसले जे भने पनि मेरो त्यसमा आपत्ति छैन । तर वास्तविकतामा हामी एकदमै होसियारीपूर्वक, ध्यानपूर्वक, राजनीतिक सुझबुझका साथ देशको भविष्य, इतिहासलाई योगदान दिने हिसाबले काम गरिरहेका छौँ । अरु कुनै चिजको पनि कुनै कहीँ अर्थ र गुन्जायस बिल्कुल छैन ।
तपाईंले अस्ति मात्रै क्यान्डिडेट क्लब खोल्नुभएको छ । स्थानीय चुनाव र प्रदेश चुनाव चाहिँ ६ महिना अगाडि सार्ने प्रावधान छ । यसको मतलब तपाईंहरू स्थानीय र प्रदेश तहको चुनावको तयारीमा हो ?
पार्टी चुनावमा त जानै पर्छ किनभने हाम्रो अब कुनै एउटा प्वाइन्टमा गएर त हामीले स्थानीय चुनाव त गर्नै पर्छ । त्यसको समय आउँदैछ । रास्वपा चुनावमा किन गयो हामी भने यी विवादहरूमा छैनौँ, हामी चुनावतिर छौँ । हाम्रो काममा फोकस छौँ । यो त क्रिएट गरिएका विवादहरू हुन् जहाँ हाम्रो कुनै संलग्नता पनि छैन, हामीलाई इन्ट्रेस्ट छैन ।
हाम्रो इन्ट्रेस्ट कहाँ छ भने चुनावमा योग्य उम्मेदवारहरू ल्याउने र पार्टीलाई अलिकति बलियो बनाएर जाने । पार्टी स्वभाविकमा नयाँ हो, एउटा राजनीतिक दल बन्नलाई निकै समय लाग्छ । राजनीतिक दल दर्ता हुन एक सेकेन्ड लाग्छ, वास्तवमा दल ‘दल’ बन्न त धेरै समय लाग्छ नि ! त्यसकारणले हामी त्यो प्रक्रियामा छौँ ।
रास्वपा सरकारमा गएपछि कायापलट हुन्छ भन्ने अपेक्षा थियो, तर अहिले बजारमा ग्यास छैन, जनता रोइरहेका छन् । यसबारे के भन्नुहुन्छ ?
सरकारले इमानदारीपूर्वक काम गरिरहेको छ । ग्यासको समस्या मुख्यतया व्यवस्थापनको विषय हो । केही पहुँच भएका नागरिकले भविष्यका लागि धेरै सिलिन्डर स्टक राख्दा पहुँच नभएकाहरूले दुःख पाएका हुन् । सरकारले यसलाई समाधान गर्न प्रमुख जिल्ला अधिकारी र डिलरहरूलाई सक्रिय बनाएर ‘ट्रयाकिङ’ गरिरहेको छ । नागरिकले भोग्नुपरेको यो दुःखप्रति हामी क्षमाप्रार्थी छौँ र समाधानका लागि सरकार प्रतिबद्ध छ ।
सुधन गुरुङको छानबिन प्रतिवेदन किन सार्वजनिक भएन ? तपाईंको हातमा पुगेको छ कि छैन ?
यो प्रतिवेदन मसँग वा कुनै व्यक्तिसँग आउने कुरा होइन । कतिपय सुरक्षा र रणनीतिसँग जोडिएका विषयहरू संवेदनशीलताका कारण तत्काल सार्वजनिक नगरिएका हुन सक्छन् । सुरक्षा चुनौती र राष्ट्रिय रणनीतिका कुराहरू सम्पूर्ण रूपमा सार्वजनिक गर्दा कतिपय मान्यतामा असर पर्न सक्छ । तर निश्चित समयपछि यी कुराहरू सार्वजनिक हुने नै छन् ।
सभामुखको रुलिङपछि प्रधानमन्त्री संसदमा जाने विषयमा केही कुरा भएको छ ?
आगामी १० गते प्रधानमन्त्रीज्यू संसदमा जाने कुरा तय भइसकेको छ ।
म पत्रकार साथीहरूका प्रश्नको जवाफ दिन सधैँ यसरी नै उपस्थित हुनेछु। मलाई देख्दा लखेट्नु वा हल्ला गर्नु पर्दैन, म सधैँ तपाईंहरूको जवाफ दिन तयार छु। धन्यवाद।




प्रतिक्रिया