सीद्वारा ‘अदम्य लडाइँ’का लागि आह्वान

काठमाडौं । सी चिनफिङको कडा सन्देश : तियानमेन दमनको निर्णयको बचाउ, ‘अदम्य लडाइँ’का लागि आह्वान

चिनियाँ राष्ट्रपति सी चिनफिङले देश कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै चुनौतीसँग जुध्न ‘अदम्य लडाइँको भावना’ प्रदर्शन गर्न आह्वान गरेका छन्। सोमबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सीले चीनको राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासका हितको दृढतापूर्वक रक्षा गर्नुपर्ने बताएका हुन्।

पूर्वराष्ट्रपति जियाङ जेमिनको १००औँ जन्मजयन्तीका अवसरमा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’मा आयोजित समारोहमा सीले करिब ४५ मिनेट सम्बोधन गरे। कार्यक्रममा हजारौँ चिनियाँ अधिकारी तथा प्रतिनिधि सहभागी थिए।

सम्बोधनका क्रममा सीले चीनले विगतमा गम्भीर चुनौतीको सामना गरेर पनि स्थिरता कायम राख्न सफल भएको दाबी गरे। उनले आगामी दिनमा पनि कठिन परिस्थिति आए त्यसको सामना गर्न पार्टी र राज्य संयन्त्र तयार रहनुपर्ने बताए।

“अदम्य लडाइँको भावना र असाधारण क्षमताका साथ हामी प्रमुख चुनौतीहरूको सक्रिय रूपमा सामना गर्नेछौँ, चाहे ती उर्लंदा छाल हुन् वा भीषण आँधीबेहरी,” सीले भने।

सीले आर्थिक विकास र सामाजिक स्थिरतालाई चीनको उपलब्धिका रूपमा प्रस्तुत गर्दै त्यसलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

तर उनको सम्बोधनको सबैभन्दा महत्वपूर्ण पक्ष सन् १९८९ को तियानमेन प्रदर्शनसँग सम्बन्धित थियो। सीले तत्कालीन नेतृत्वले प्रदर्शन नियन्त्रण गर्न गरेको निर्णयको प्रशंसा गर्दै जियाङ जेमिनले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वका निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गरेको बताए।

सीका अनुसार सन् १९८९ को वसन्त र गर्मीबीच चीनले गम्भीर राजनीतिक उथलपुथलको सामना गरेको थियो। त्यतिबेला जियाङले सांघाईमा स्थिरता कायम राख्न पार्टी नेतृत्वको निर्णयलाई समर्थन गरेको उनको भनाइ थियो।

तियानमेन प्रदर्शन सन् १९८९ मा चिनियाँ कम्युनिस्ट पार्टीका नेता हु याओबाङको निधनपछि सुरु भएको थियो। उदारीकरणका पक्षधर मानिने याओबाङलाई दुई वर्षअघि नेतृत्वबाट हटाइएको थियो। उनको निधनपछि हजारौँ विद्यार्थी बेइजिङमा भेला हुँदै राजनीतिक सुधार र थप लोकतान्त्रिक व्यवस्थाको माग गर्न थालेका थिए।

प्रदर्शनकारीको संख्या हप्तौँसम्म बढ्दै गएपछि जुन ४ मा चिनियाँ सेनाले तियानमेन स्क्वायर खाली गराउन बल प्रयोग गरेको थियो। गोली चलाइएको उक्त घटनामा ठूलो संख्यामा मानिस मारिएको र घाइते भएको बताइन्छ। घटनाको वास्तविक मृतक संख्या भने आजसम्म विवादित छ।

त्यसपछि जियाङ जेमिन चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव बने। उनका पूर्ववर्ती झाओ चियाङलाई भने प्रदर्शनकारीप्रति सहानुभूति राख्ने नेताका रूपमा हेरिन्थ्यो।

सन् १९९३ सम्म आइपुग्दा जियाङ चीनका शक्तिशाली नेतामध्ये एक बनिसकेका थिए। अहिले राष्ट्रपति सीले उनको राजनीतिक भूमिकाको प्रशंसा गर्दै तियानमेन संकटका बेला पार्टीले लिएको कठोर निर्णयलाई समेत सकारात्मक रूपमा प्रस्तुत गरेका छन्।

सीको पछिल्लो अभिव्यक्तिले चीनभित्र राजनीतिक स्थिरता, पार्टीको सर्वोच्चता र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने उनको नीति अझै दृढ रहेको संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार