वीपी राजमार्ग चौडा बनाउन डीपीआर तयार

बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको करिब २० किलोमिटर सडकखण्ड विस्तार गरिने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार विस्तारपछि सडकको मुख्य कालोपत्रे भाग १० मिटर चौडा हुनेछ।

हाल उक्त सडकखण्डमा मुख्य कालोपत्रे गरिएको भागको औसत चौडाइ ५ दशमलव ५ मिटर मात्रै छ। सडकलाई फराकिलो बनाउने योजनाअन्तर्गत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ।

डीपीआरअनुसार सडक विस्तारका लागि ३ अर्ब ७९ करोड ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सडक कालोपत्रे गर्न मात्रै प्रतिकिलोमिटर १८ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान छ।

सडक विस्तारका क्रममा दायाँ–बायाँ १५ मिटरसम्मका संरचना तथा जग्गाको मुआब्जा वितरणको काम भने यसअघि नै सम्पन्न भइसकेको योगेशले बताए। विस्तार हुने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकाभित्र पर्छ।

यसैबीच, २०८१ साल असोजमा आएको बाढीपहिरोका कारण बीपी राजमार्गको भकुन्डेबेंसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकखण्डमा ठूलो क्षति पुगेको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालनमा ल्याइए पनि क्षतिग्रस्त सडकखण्डको स्थायी पुनर्निर्माण अहिले भइरहेको कार्यालयले जनाएको छ।

राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चारवटा प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ। सम्झौताअनुसार पुनर्निर्माणको काम अघि बढिरहेको छ। काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि ७ अर्ब ५० करोड रुपैयाँ तथा सिन्धुलीतर्फको एक सडकखण्डका लागि करिब १ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने बीपी राजमार्ग निर्माण सुरु भएको थियो। कुल १६० किलोमिटर लामो राजमार्ग निर्माण सम्पन्न भएपछि २०७२ साल असार १८ गते जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार