काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापन भएको छ। तर समापन समारोहमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का नदेखिएपछि कांग्रेसभित्र फेरि राजनीतिक चर्चा चुलिएको छ।
करिब साढे पाँच महिना विदेश बसेर फर्किएका पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा आयोजित भेलाको उद्घाटनमा भने खड्का सहभागी भएका थिए। त्यतिबेला उनले देउवाकै नेतृत्वमा पन्ध्रौँ महाधिवेशन सफल बनाउनुपर्ने धारणा राखेका थिए।
तर, समापनमा उनी अनुपस्थित भएपछि प्रश्न उठेको छ—खड्का देउवासँग असन्तुष्ट भएका हुन् त?
जेन–जी आन्दोलनपछि देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। तर राष्ट्रिय भेला डा. शशांक कोइरालाको नेतृत्वमा आयोजना भएपछि खड्का असन्तुष्ट बनेको हुनसक्ने अनुमान गरिएको छ।
खड्कानिकट नेताहरू भने उनी पार्टी विभाजनको पक्षमा नरहेकाले समापनमा सहभागी नभएको दाबी गर्छन्। उनीहरूले भेलाबारे खड्काको सुरुदेखि नै असहमति रहेको तर देउवाको मन राख्न उद्घाटनमा पुगेको बताएका छन्।
यता देउवा पक्षको दाबी भने फरक छ। शशांक कोइरालालाई नेतृत्व मानेर अघि बढ्न नसकेका कारण खड्का समापनमा नआएको उनीहरूको बुझाइ छ।
रोचक कुरा के छ भने कांग्रेस नेता डा. शेखर कोइराला पनि समापन कार्यक्रममा पुगेनन्। तर शेखरको अनुपस्थितिभन्दा खड्काको अनुपस्थितिलाई बढी अर्थपूर्ण रूपमा हेरिएको छ।
किनभने खड्काले पछिल्लो समय कांग्रेस सभापति गगन थापासँग संवाद अघि बढाएको चर्चा पनि छ। कुनै समय गगनसँग असन्तुष्ट रहेका खड्काले अहिले संवादको ढोका खोल्नुलाई कांग्रेसभित्र नयाँ राजनीतिक समीकरणको संकेतका रूपमा समेत हेरिएको छ।
अब प्रश्न यही हो—पूर्णबहादुर खड्का देउवा समूहबाट टाढिँदै गएका हुन्? गगनसँगको संवाद नयाँ समीकरणको संकेत हो? कि उनी पार्टी विभाजन रोक्ने भूमिकामा छन्?
कांग्रेसको आगामी महाधिवेशन नजिकिँदै गर्दा खड्काको यो ‘गयल’ ले धेरै राजनीतिक प्रश्न भने छाडेको छ।




प्रतिक्रिया