काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मा विद्युतीय, हाइब्रिड, प्लग–इन हाइब्रिड तथा कनेक्टेड–कार प्रविधियुक्त सवारीसाधनले दर्शकको ध्यान खिचेका छन् ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी छन् भने ४० भन्दा बढी नयाँ मोडेल तथा उत्पादन सार्वजनिक तथा प्रदर्शनमा राखिएको आयोजकले जनाएको छ । मोबाइल एपबाट नियन्त्रण, फास्ट चार्जिङ, लामो रेन्ज, भ्वाइस कन्ट्रोल, ३६० डिग्री क्यामरा, लेभल–२ एडीएएस र भीटुएलजस्ता आधुनिक प्रविधि अहिलेका प्रमुख आकर्षण बनेका छन् ।
निसान टेकटन : मोबाइलबाटै गाडी नियन्त्रण
निसानले एक्स्पोमा नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरेको छ । यसमा मोबाइल एपमार्फत ५५ भन्दा बढी कनेक्टेड–कार सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
मोबाइलबाटै गाडी स्टार्ट गर्ने, एसी चलाउने, ढोका लक तथा अनलक गर्ने, हेडलाइट र हर्न नियन्त्रण गर्ने तथा गाडीको अवस्था जाँच गर्न सकिन्छ । ‘फाइन्ड माइ कार’ सुविधाले पार्किङ गरेको स्थानसमेत पत्ता लगाउन सहयोग गर्छ ।
टेकटनमा १.० र १.३ लिटर टर्बो पेट्रोल इन्जिन विकल्प छन् । १.० लिटर इन्जिनले १०० पीएस शक्ति र १६६ एनएम टर्क तथा १.३ लिटरले १६३ पीएस शक्ति र २८० एनएम टर्क उत्पादन गर्छ । वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, पानारोमिक सनरुफ, ६ एयरब्याग र लेभल–२ एडीएएस यसको प्रमुख विशेषता हुन् ।
यसको मूल्य ५१ लाख २९ हजारदेखि ८३ लाख ५९ हजार रुपैयाँसम्म छ ।
चेरी क्यु : ५४० डिग्री क्यामरासहितको ईभी
सहर केन्द्रित विद्युतीय क्रसओभर ‘चेरी क्यु’मा ४१.२ किलोवाट–आवरको एलएफपी ब्याट्री र ९० किलोवाटको रियर मोटर छ । कम्पनीका अनुसार यसले एनईडीसी परीक्षणअनुसार एकपटक चार्ज गर्दा ४०० किलोमिटरसम्म रेन्ज दिन्छ ।
१५.६ इन्चको टचस्क्रिन, २० भन्दा बढी एडीएएस फिचर र ५४० डिग्री सराउन्ड–भ्यु क्यामरा यसका मुख्य आकर्षण हुन् । क्यामराले गाडी वरिपरिका साथै तलको भागसमेत हेर्न सहयोग गर्छ ।
यसमा भीटुएल सुविधा, ७० लिटरको फ्रंक र ३७५ लिटरको बुट छ । एक्स्पो विशेष मूल्य ३० लाख ९९ हजारदेखि ३२ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ ।
आर्कफक्स टी१ : सानो ईभीमा स्मार्ट प्रविधि
बीएआईसी समूहको विद्युतीय ब्रान्ड आर्कफक्सले ‘टी१’ नेपालमा सार्वजनिक गरेको छ । ४१.२ किलोवाट–आवर ब्याट्री र ९० किलोवाटको रियर मोटर रहेको यस गाडीले कम्पनीका अनुसार ४२५ किलोमिटरसम्म रेन्ज दिन्छ ।
१५.६ इन्चको एचडी टचस्क्रिन, भ्वाइस कन्ट्रोल, एप्पल कारप्ले, इजिलिंक कनेक्टिभिटी, अटोमेटिक पार्किङ, क्रुज कन्ट्रोल र लेन डिपार्चर वार्निङजस्ता सुविधा यसमा छन् ।
नाइमा विशेष अफरमा यसको मूल्य ३२ लाख ९६ हजार रुपैयाँबाट सुरु हुन्छ ।
टाटा पन्च ईभी फेसलिफ्ट : ४६८ किलोमिटर रेन्ज
टाटा पन्च ईभी फेसलिफ्टमा ३० र ४० किलोवाट–आवरका ब्याट्री विकल्प छन् । कम्पनीका अनुसार ४० किलोवाट–आवर संस्करणले एआरएआई परीक्षणअनुसार ४६८ किलोमिटरसम्म रेन्ज दिन्छ ।
यसमा ६५ किलोवाट डीसी फास्ट चार्जिङ, १०.२५ इन्च टचस्क्रिन, डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, कनेक्टेड–कार प्रविधि र ३६० डिग्री क्यामरा छन् ।
भ्वाइसबाट खोल्न सकिने सनरुफ, ६ एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल–होल्ड र टायर प्रेसर मोनिटरिङ पनि उपलब्ध छन् ।
प्रोटोन ई.मास ५ : स्टोरेज र भीटुएलमा जोड
प्रोटोन ई.मास ५ मा ७० लिटरको फ्रंक, सिटमुनि २८ लिटर तथा सेन्टर कन्सोलमुनि २० लिटर अतिरिक्त स्टोरेज दिइएको छ । पछाडिको बुट क्षमता ३७५ लिटर छ ।
१४.६ इन्चको फुल एचडी डिस्प्ले, रियर मल्टिलिंक इन्डिपेन्डेन्ट सस्पेन्सन, जिट्राक ट्र्याक्सन कन्ट्रोल र भीटुएल सुविधा यसको प्रमुख विशेषता हुन् । प्रिमियम भेरिएन्टमा ८५ किलोवाटको ११–इन–१ इलेक्ट्रिक मोटर, पावर्ड टेलगेट र ३६० डिग्री क्यामरा उपलब्ध छन् ।
हुन्डाई भेन्यु : नेपालमै एसेम्बल भएको लेभल–२ एडीएएससहितको मोडेल
नयाँ पुस्ताको हुन्डाई भेन्यु नेपालमै एसेम्बल भएर एक्स्पोमा सार्वजनिक गरिएको छ । कम्पनीका अनुसार नेपालमा भेन्युमा पहिलोपटक लेभल–२ एडीएएस उपलब्ध गराइएको हो ।
एडाप्टिभ क्रुज कन्ट्रोल, फर्वार्ड कोलिजन एभोइडेन्स, लेन किपिङ एसिस्ट, ३६० डिग्री क्यामरा, अगाडिको पार्किङ सेन्सर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, भेन्टिलेटेड सिट तथा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर यसका प्रमुख सुविधा हुन् ।
यसको स्पोर्टी संस्करण ‘भेन्यु एन लाइन’ पनि एक्स्पोमा प्रदर्शनमा राखिएको छ । यसमा लेभल–२ एडीएएससँगै एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ एसिस्ट, फर्वार्ड कोलिजन एभोइडेन्स र ३६० डिग्री क्यामरा उपलब्ध छन् ।
बीएआईसी बीजे३०ई : हाइब्रिडमा भीटुएल
पाँच सिटे बीएआईसी बीजे३०ईमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग दुई इलेक्ट्रिक मोटर जोडिएका छन् । अल–ह्विल ड्राइभ संस्करणले ४०९ एचपी शक्ति र ६८५ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ ।
२१५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्च इन्फोटेनमेन्ट डिस्प्ले र भीटुएल सुविधा यसका विशेषता हुन् । यसको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
डेन्जा बी५ : प्रिमियम प्लग–इन हाइब्रिड
डेन्जा बी५ प्लग–इन हाइब्रिड एसयूभीमा पेट्रोल इन्जिनसँग दुई इलेक्ट्रिक मोटर र अल–ह्विल ड्राइभ प्रणाली छ । कम्पनीका अनुसार यसले ४२५ किलोवाट संयुक्त शक्ति र ७६० एनएम टर्क उत्पादन गर्छ ।
बीवाईडी ब्लेड ब्याट्री, १०० किलोवाट डीसी फास्ट चार्जिङ, एडाप्टिभ सस्पेन्सन, पानारोमिक रुफ, मसाजिङ सिट, प्रिमियम साउन्ड सिस्टम तथा बिल्ट–इन रेफ्रिजेरेटर यसका आकर्षण हुन् ।
एमजी एचएस हाइब्रिड : दुई विकल्प
एमजी एचएसमा पेट्रोल–इलेक्ट्रिक हाइब्रिड र प्लग–इन हाइब्रिड विकल्प छन् । प्लग–इन संस्करणलाई बाह्य चार्जरबाट चार्ज गर्न सकिन्छ ।
१९ इन्च एलोय ह्विल, हिटेड लेदरेट सिट, ३६० डिग्री क्यामरा र की–लेस इन्ट्री यसका प्रमुख सुविधा हुन् । एक्स्पो अवधिमा एमजीले ग्राहकलाई ३ लाख रुपैयाँ छुट दिने योजना पनि ल्याएको छ ।
बीवाईडी एट्टो सिरिज : तीन मोडेल प्रदर्शनमा
बीवाईडीले एक्स्पोमा एट्टो १, एट्टो २ र एट्टो ३ का नयाँ तथा फेसलिफ्ट संस्करण प्रदर्शन गरेको छ । एट्टो १ सहरिया कम्प्याक्ट ईभी, एट्टो २ कम्प्याक्ट एसयूभी र एट्टो ३ ठूलो विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरिएको छ ।
ब्लेड ब्याट्री, मोबाइल एप, डिजिटल इन्फोटेनमेन्ट र डीसी फास्ट चार्जिङ यी मोडेलका साझा विशेषता हुन् । एडीएएस, ३६० डिग्री क्यामरा र भीटुएल सुविधा भने भेरिएन्टअनुसार फरक छन् ।
किया साइरोस ईभी : ९५ भन्दा बढी कनेक्टेड फिचर
किया साइरोस ईभीमा ४२ किलोवाट–आवर ब्याट्री र १७१ पीएसको इलेक्ट्रिक मोटर छ । कम्पनीका अनुसार यसको रेन्ज ४४३ किलोमिटरसम्म छ ।
१०० किलोवाट डीसी फास्ट चार्जिङबाट १० देखि ८० प्रतिशतसम्म ब्याट्री करिब ३९ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
उच्च भेरिएन्टमा किया कनेक्ट २.० अन्तर्गत ९५ भन्दा बढी कनेक्टेड फिचर, ओभर–द–एयर सफ्टवेयर अपडेट, वायरलेस चार्जिङ, स्मार्ट ड्यासक्याम, ३६० डिग्री क्यामरा, भीटुएल र लेभल–२ एडीएएस उपलब्ध छन् ।
यसको बुकिङ मूल्य ३५ लाख ९० हजार रुपैयाँबाट सुरु हुन्छ ।
समग्रमा यसपटकको नाइमा मोबिलिटी एक्स्पोमा परम्परागत पेट्रोल तथा डिजेल गाडीभन्दा विद्युतीय र हाइब्रिड सवारीमा बढी जोड देखिएको छ । नयाँ पुस्ताका गाडीमा कनेक्टिभिटी, सुरक्षा प्रविधि, फास्ट चार्जिङ र स्मार्ट ड्राइभिङ फिचरलाई प्राथमिकता दिइएको छ ।




प्रतिक्रिया