एजेन्सी– भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बिहीबार राति भएको दुर्घटनापछि तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
राज्यद्वारा सञ्चालित जलविद्युत् परियोजनाका लागि सुरुङ निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो । राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जलविद्युत् निगमको निर्माणस्थलबाट १९ जना कामदारलाई उद्धार गरिएको छ । घाइते १३ जनाको उपचार भइरहेको जनाइएको छ ।
स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको दृश्यमा उद्धारकर्मीहरूले टाउकोमा बत्ती जडान गरेका अस्थायी डुङ्गा प्रयोग गरेर पानी भरिएको सुरुङ क्षेत्रमा पुगेर खोजी तथा उद्धार गरिरहेको देखिएको छ । बेपत्ता कामदारको खोजी जारी रहेको छ ।
उत्तराखण्डमा पछिल्ला दिनमा परेको भारी मनसुनी वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढेका छन् । हिमाली भूभागमा लगातारको वर्षाले सडक, बस्ती र निर्माणस्थलमा जोखिम थपिएको अधिकारीहरूले बताएका छन् ।








प्रतिक्रिया