काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले आज बिहान ९:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैँसेरी र अन्नपूर्ण गाउँपालिका–७ महभीरस्थित बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान ५:३० बजे लेदो माटोसहितको पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।
लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग र बेँसीसहर नगरपालिका–६ खरखरे भीरस्थित बेँसीसहर–मनाङ सडक पनि अवरुद्ध भएको छ । ती दुवै सडक बिहीबार राति गएको पहिरोका कारण अवरुद्ध बनेका हुन् ।
रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र भूमे गाउँपालिका–५ धौलापहिरास्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेशी जाने कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकुमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा राति ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावत रोक लगाइएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक भने सञ्चालनमा छ ।




प्रतिक्रिया