काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्रै नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले युवाको अधिकार, सहभागिता, सशक्तीकरण र भविष्यका विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका हुन् ।
उनले १६ देखि ४० वर्ष उमेर समूहका युवा जनसंख्या ४२.५६ प्रतिशत रहेको उल्लेख गर्दै यो नेपालको ‘जनसांख्यिक लाभांश’ का रूपमा रहेको बताएका छन् । तर, रोजगारी र अवसरको खोजीमा दैनिक करिब २ हजार युवा विदेशिन बाध्य हुनु विडम्बनापूर्ण रहेको उनको भनाइ छ ।
उनले शुभकामना सन्देशमा जेनजी आन्दोलन र उनीहरुका माग सम्बोधनको विषय पनि उल्लेख गरेका छन् । जेनजी विद्रोहले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागेको बताउँदै उनले त्यसपछि भएको निर्वाचनमा पनि युवासहितका मतदाताले परिवर्तनको चाहना मतमार्फत व्यक्त गरेको बताएका छन् ।



प्रतिक्रिया