काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले चार महिनामै पूर्ण मूल्यांकन हुने गरी काम गर्न नसके पनि जनतामा आफ्नो कामको ‘छनक’ भने दिन सक्नुपर्ने बताएका छन्।
युवा उद्यमी मञ्चको २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै लामिछानेले सरकारको काममा केही कमजोरी देखिएको स्वीकार गरेका हुन्।
उनले सरकार र पार्टीभित्र विवाद उत्पन्न भएको भन्ने हल्ला बाहिर आए पनि त्यसलाई विश्वास नगर्न आग्रह गरे। “सरकार र पार्टीमा केही गडबड भयो कि ? झगडा पनि पर्यो कि भन्ने र्युमर आउँछन्, नपत्याउनुहोला,” उनले भने।
लामिछानेले सरकारलाई चार महिनामै मूल्यांकन गर्न नमिल्ने भए पनि यस अवधिमा उसले आफ्नो कामको संकेत भने देखाइसक्नुपर्ने बताए। “सरकारलाई चार महिनामै मूल्यांकन गर्न मिल्दैन, तर छनक चाहिँ दिन सक्नुपर्थ्यो,” उनले भने।
सरकारले आफूले गरेका बाचा र तय गरेका लक्ष्यअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उनले काममा विचलन आए रास्वपाले सरकारलाई सचेत गराउने बताए।
“सरकारले काम गरेन भने, बाटो बिरायो भने कान समाउन सक्ने क्षमता छ,” लामिछानेले भने। सरकार आफ्नो बाटोबाट बाहिरिए त्यसलाई सही दिशामा ल्याउने जिम्मेवारी आफूहरूको रहेको उनको भनाइ थियो।
“लिकभन्दा बाहिर रह्यो भने लिकमा ल्याएर सरकार हिँडाउने काम हाम्रो हो,” उनले भने।
लामिछानेले पछिल्लो समय निजी क्षेत्रका व्यवसायी तथा उद्यमीहरूमा डर र त्रास बढेको आफूले महसुस गरेको पनि बताए। सरकारले निजी क्षेत्रलाई अपराधीको व्यवहार नगर्नुपर्ने उनको भनाइ थियो।
उनले आर्थिक तथा व्यावसायिक क्षेत्रमा हुने कमजोरीलाई अन्य गम्भीर अपराधसँग एउटै दृष्टिले हेर्न नहुने बताए। व्यवसाय सञ्चालनका क्रममा कमजोरी भएको भए त्यसलाई कानुनी प्रक्रियाबाट सम्बोधन गर्नुपर्ने तर व्यवसायीलाई डर र त्रासमा राख्न नहुने उनले बताए।
“पछिल्ला दिनमा निजी क्षेत्रका साथीहरू आत्तिनुभएको हो कि ?,” प्रश्न गर्दै लामिछानेले भने, “कुनै पनि मानिस काम गर्दा, व्यापार–व्यवसाय गर्दा कमजोरी भएको रहेछ भने पनि आर्थिक अपराधसँग जोडेर हेर्नुपर्छ। साँझ र बिहान तर्साएर समाउने होइन, अरू अपराधीसरह हेर्ने होइन।”
उनले निजी क्षेत्रलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नु सरकारको दायित्व भएको समेत बताए।


प्रतिक्रिया