नेपाली कांग्रेसको इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय भेला आयोजक समितिले आगामी साउन २९ देखि ३१ गतेसम्म हुने भेलामा देउवा सहभागी हुने जानकारी दिएको हो।
आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका अनुसार देउवा साउन २६ गते स्वदेश फर्किनेछन्। स्वदेश फर्किएपछि उनले राष्ट्रिय भेलामा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको कोइरालाले बताए।
पत्रकार सम्मेलनमा कोइरालाले देउवा स्वदेश फर्किने क्रममा राज्यका तर्फबाट धरपकड वा अवरोध भए त्यसको विरोध गर्ने चेतावनीसमेत दिए।
कांग्रेसभित्र संस्थापनइतर समूहले आयोजना गर्न लागेको यो भेलालाई पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक अवस्था र आन्तरिक विवादबारे छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।


प्रतिक्रिया