प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन हुन्छ : मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीमा भएको विरोध प्रदर्शन र विपक्षीको विरोधका बीच द्रूत मार्ग अदालत गठन गर्ने बताएका छन् ।

प्रश्नपत्र चुहावटको विषयलाई लिएर दिल्लीमा सडक र सदनमा विरोध भइरहेका बेला बिहीबार मोदीले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भनेका छन्, ‘हाम्रा युवाहरूको कल्याण र भविष्यभन्दा महत्त्वपूर्ण अरू केही छैन !’

उनले प्रश्नपत्र चुहावटका मुद्दाहरू चलाउन सरकारले ‘फास्ट–ट्र्याक’ (द्रुत मार्ग) अदालत गठन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

‘प्रश्नपत्र चुहावटमा संलग्नहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्न हामीले फास्ट–ट्र्याक अदालतहरू स्थापना गर्ने निर्णय गरेका छौँ । यस सम्बन्धमा आवश्यक सबै कदम चाल्न मैले सम्बन्धित निकाय र अधिकारीहरूलाई निर्देशन दिएको छु,’ उनले भनेका छन् ।

प्रश्नपत्र चुहावटमा संलग्नहरूलाई न्यायको कठघरामा उभ्याउन सरकारले चालेका विभिन्न कदमहरूको यो एउटा हिस्सा भएको प्रधानमन्त्री मोदीको भनाइ छ ।

‘यो विद्यार्थीहरूको हित रक्षाका लागि हामीले चालेका कदमहरूको शृङ्खलाकै निरन्तरता हो । हाम्रा युवाहरूको भविष्यमाथि आघात पुर्‍याउने प्रयास गर्ने कसैलाई पनि छोडिने छैन,’ मोदीले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार