काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बारम्बारको विद्युत् अवरोध, कमजोर वितरण प्रणाली र बढ्दो उपभोक्ता गुनासोलाई सुधार्न देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं उपकार्यकारी निर्देशक राजन ढकालले जिम्मेवारी सम्हालेकै पहिलो दिन २६ बुँदे सुधारात्मक निर्देशन जारी गर्दै वितरण प्रणालीलाई ‘रिएक्टिभ’ नभएर ‘प्रोएक्टिभ’ बनाउने रणनीति अघि सारेका छन् ।
अहिले देखिएका समस्या समाधान, भविष्यमा समस्या आउनै नदिने प्रणाली विकास गर्ने जनाइएको छ । त्यसका लागि प्राधिकरणले सबैभन्दा बढी समस्या हुने फिडर पहिचानदेखि पूर्वसावधानीमूलक मर्मत, चुहावट नियन्त्रण, कर्मचारीको जबाफदेहिता र उपभोक्ता सेवासम्मका विषयलाई एउटै कार्ययोजनामा समेटेको छ ।
प्राधिकरणले पछिल्लो समय विद्युत् आपूर्तिमा देखिएको अविश्वसनीयता मुख्य चुनौतीका रूपमा पहिचान गरेको छ । विभिन्न क्षेत्रमा बारम्बार फिडर ट्रिपिङ हुने, ओभरलोड ट्रान्सफर्मर, कमजोर कन्डक्टर तथा जम्पर, रुखका हाँगा र झाडीका कारण लाइनमा अवरोध आउने, असुरक्षित पोल तथा संरचना, ढिलो मर्मत तथा उपभोक्ताका गुनासो समयमै सम्बोधन नहुने अवस्थालाई सुधारको मुख्य आधार बनाइएको छ ।


प्रतिक्रिया