पूर्वअर्थमन्त्री महतको मुद्दा मुल्तबीमा राख्न अस्वीकार

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वअर्थमन्त्री डा. रामशरण महतको मुद्दा तत्काल मुल्तबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ।

डा.महतकी पत्नी रोशना महतले आफ्ना पति गम्भीर मानसिक रोग ‘फ्रन्ट टेम्पोरल डिमेन्सिया’ बाट पीडित भई शारीरिक र मानसिक रूपमा अशक्त भएको भन्दै मुद्दा स्थगित गर्न निवेदन दिएकी थिइन् ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मंगलबार उक्त निवेदनमाथि सुनुवाइ गर्दै हाललाई मुद्दा मुल्तबीमा राख्न नपर्ने आदेश दिएको हो।


अदालतको आदेशमा डा. महतको स्वास्थ्य अवस्था गम्भीर रहेको कुरालाई पूर्णतः उपेक्षा गरिएको भने छैन । तर, प्राविधिक र कानुनी प्रक्रियाका आधारमा अदालतले अहिले नै मुद्दा मुल्तबीमा राख्न नमिल्ने तर्क गरेको छ।

आदेशमा भनिएको छ, “प्रतिवादी रामशरण महत निवेदक रोशना महतका साथ अदालतमा उपस्थित भएका बखत निजको स्वास्थ्य अवस्था समेतलाई दृष्टिगत गरी इजलासबाट कानुन बमोजिम उपयुक्त आदेश हुन सक्ने नै हुँदा प्रस्तुत निवेदन माग बमोजिम हाल मुल्तवी राख्न मिलेन। कानुन बमोजिम गर्नु।”

प्रतिक्रिया

सम्बन्धित समाचार