काठमाडौं । एप्पलले मंगलबार आइफोन १५ सिरिज तथा नयाँ एप्पल वाच सार्वनिक गर्यो । कम्पनीले यसपटक डिजाइन, फिचर्स तथा डिभाइसको पर्फमेन्समा ध्यान दिएको छ । पहिलोपटक आइफोनमा युएसबी टाइप सी पोर्ट राखेको एप्पलले ल्याएका चारवटा मोडेलका नयाँ आइफोनका खास विशेषताहरु के के छन् त ?
आइफोन १५ का फिचर्स
आइफोन १५ सिरिजको आधारभूत मोडलमा ६।१ इन्चको सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले रहेको छ ।
स्क्रिनको पिक्सेल रिजोलुसन २५५६गुणा ११७९ रहेको छ । यसमा ए १६ बायोनिक चिपसेट रहेको छ । १२८ गिगाबाइट स्टोरेज भेरिएन्टमा उपलब्ध आइफोन १५ को ब्याक प्यानलमा डुअल क्यामेरा सेटअप रहेको छ । जसमा ४८ मेगापिक्सेलको प्राइमेरी क्यामरा तथा १२ मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ ।
त्यस्तै आइफोन १५ मा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । फोनको लम्बाई १४७।६ मिलिमिटर, चौडाई ७१।६ मिलिमिटर तथा मोटाई ७।८ मिलिमिटर रहेको छ । साथै यसको तौल १७१ ग्राम रहेको छ ।
आइफोन १५ प्लस
६.७ इन्चको सुपर रेटिना एक्सडिआर ओएलइडी डिस्प्ले रहेको आइफोन १५ प्लसको डिस्प्लेमा २००० निट्सको पिक ब्राइटनेस उपलब्ध छ । स्क्रिनको पिक्सेल रिजोलुसन २७९६ गुणा १२९० रहेको छ । यसमा पनि आधारभूत मोडेलमा जस्तै ए१६ बायोनिक चिपसेट प्रयोग गरिएको छ ।
आइफोन १४ प्रो तथा आइफोन १४ प्रो म्याक्समा पनि यहीँ चिप रहेको थियो । आइफोन १५ प्लसको क्यामेरा सेटअप आइफोन १५ को आधारभूत मोडेलमा जस्तै रहेको छ ।
फोनको लम्बाई १६०.९ मिलिमिटर, चौडाई ७७।८ मिलिमिटर तथा मोटाई ७।८ मिलिमिटर रहेको छ । साथै यसको तौल २०१ ग्राम रहेको छ ।
आइफोन १५ र १५ प्लस कालो, निलो, हरियो, पहेँलो र गुलाबी रङमा उपलब्ध छन् । दुबै मोडेलमा ६गिगाबाइटको र्यामका साथै १२८, २५६ तथा ५१२ गिगाबाइट गरी तिनवटा स्टोरेज अप्सन रहेका छन् ।
साथै दुबै मोडेलमा डाइनामिक आइल्याण्ड रहनुका साथै ह्याप्टिक टच फिचर पनि उपलब्ध छ भने आइओएस १७ अपरेटिङ सिस्टमबाट चल्दछ ।
आइफोन १५ प्रो
यसमा ६.१ इन्चको सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले रहेको छ । सबैभन्दा महत्वपूर्ण यसमा राखिएको अत्याधुनिक तथा सबैभन्दा पछिल्लो चिपसेट हो । एप्पलले यो मोडेलमा ए१७ प्रो ३ नानोमिटरको चिपसेट प्रयोग गरेको छ ।
यसमा ८ गिगाबाइट र्याम हुनुका साथै १२८, २५६, ५१२ जिबी तथा १ टेराबाइट गरी चारवटा स्टोरेज अप्सन उपलब्ध छन् ।
आइफोन १५ प्रो को ब्याक प्यानलमा ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा ४८ मेगापिक्सेलको प्राइभेसी वाइड एंगल क्यामरा, १२ मेगापिक्सेलको टेलिफोटो तथा अर्को १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा रहेको छ भने १२ मेगापिक्सेलको सेल्फी क्यामरा छ ।
प्राइमेरी क्यामेरामा सेन्सर शिफ्ट ओआइएस रहेको छ । यसमा ३ गुणा अप्टिकल जूम क्षमता रहेको छ । १४६.६ मिलिमिटर लम्बाई, ७०।६ मिलिमिटर चौडाई तथा ८.३ मिलिमिटर मोटाई रहेको आइफोन १५ प्रोको वजन १८७ ग्राम छ ।
यसमा कालो टाइटानियम, सेतो टाइटानियम, निलो टाइनानियम तथा नेचरल टाइटानियम गरी चारवटा रङ उपलब्ध छन् ।
आइफोन १५ प्रो म्याक्स
यसमा ८ जिबी र्यामका साथै २५६ जिबी, ५१२ जिबी र १ टेराबाइट गरी तिनवटा स्टोरेज अप्सन उपलब्ध छन् ।
यसमा पनि प्रो मोडेलमा जस्तै ब्याक प्यानलमा ट्रिपल क्यामरा सेटअप तथा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यसमो प्राइमरी क्यामरामा ५ गुणा अप्टिकल जूम रहेको छ ।
१५९.९ मिलिमिटर लम्बाई, ७६।७ मिलिमिटर चौडाई तथा ८।३ मिलिमिटर मोटाई रहेको आइफोन १५ प्रो म्याक्सको वजन २२१ ग्राम छ । यसमा कालो टाइटानियम, सेतो टाइटानियम, निलो टाइनानियम तथा नेचरल टाइटानियम गरी चारवटा रङ उपलब्ध छन् ।
एप्पलका नयाँ आइफोनमा स्क्रिनको सुरक्षाका लागि सेरामिक शिल्डको प्रयोग गरिएको छ त्यस्तै टाइटानियम फ्रेम र डुअल सिम फिचर उपलब्ध छन् ।
– एजेन्सीको सहयोगमा







प्रतिक्रिया