फ्रान्स फिफा विश्वकप २०२६ क्वार्टफाइनलमा प्रवेश

सहआयोजक क्यानडालाई हराउँदै मोरक्को र पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेका छन् । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा क्यानडालाई ३-० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औँ मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए ।

यस्तै, अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को दोस्रो खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनल प्रवेश गरेको छ । फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरे ।

एम्बाप्पेले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।

जारी विश्वकपमा यो उनको सातौँ गोल हो । उनी अर्जेन्टिनाका लियोनल मेसीसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा छन् । एम्बाप्पे मेसीको विश्वकपको सर्वकालीन २० गोलको कीर्तिमानभन्दा मात्र एक गोलले पछि छन् ।

अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग खेल्ने छ । यी दुई टोली सन् २०२२ को विश्वकपमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया