काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरे ।
भेटवार्तामा भारतीय प्रधानमन्त्रीसँगै थिए– भारतीय विदेशमन्त्री एस जयशंकर, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेश सचिव विक्रम मिश्री लगायत । प्रायः यस्तो दृश्य दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तामा देखिन्छ ।
रास्वपा सभापति लामिछाने ‘भाजपालाई जानौं’ अभियान अन्तर्गत भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नविनको निमन्त्रणामा नयाँ दिल्ली पुगेका थिए । तर एउटा पार्टीको सभापतिलाई भारतले प्रधानमन्त्रीलाई नै दिने स्तरको सम्मान दिएको थियो ।
एउटा देशको पार्टी सभापतिलाई भेट दिँदा आफ्ना विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिवलाई सँगै राखिँदैन । अझ अघिल्लो दिन नै लामिछाने र जयशंकरबीच भेटवार्ता भइसकेको अवस्थामा भोलिपल्ट प्रधानमन्त्रीसँगको भेटमा उपस्थित हुन जरुरी नभएको विज्ञको टिप्पणी छ ।


प्रतिक्रिया