नेपालमा आज १७औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ र सरकारले सार्वजनिक बिदा दिएको छ। २०६५ जेठ १५ गते पहिलो संविधानसभाले २४० वर्षे राजतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा यो दिवस मनाइन्छ।
यस अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ, जहाँ राष्ट्रपति,लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले समारोहलाई सम्बोधन गर्नेछन् भने प्रधानमन्त्रीले यसपटक सम्बोधन नगर्ने भएका छन्।
नेपालमा गणतन्त्र स्थापना हुनुअघि राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शासन आफ्नै हातमा लिएपछि सात दल र माओवादीबीच १२ बुँदे समझदारी भएको थियो। त्यसपछि जनआन्दोलन चर्किँदै गएर संसद् पुनःस्थापना भयो र राजसंस्था निलम्बन गरियो।
२०६४ सालमा संविधानसभा निर्वाचन सम्पन्न भयो र २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजतन्त्र अन्त्य गर्यो। पछि दोस्रो संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गर्यो। त्यसपछि संघीय, प्रादेशिक र स्थानीय तहका सरकारमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन सञ्चालन हुँदै आएको छ।
गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव बनेका थिए। त्यसपछि विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति तथा पहिलो महिला राष्ट्राध्यक्ष भइन् भने हाल रामचन्द्र पौडेल तेस्रो राष्ट्रपतिका रूपमा कार्यरत छन्।



प्रतिक्रिया