अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीप्रति भारतले आपत्ति जनाएको छ । ट्रम्पले कन्जरभेटिभ रेडियो होस्ट माइकल स्याभेजले गरेको एउटा विवादित टिप्पणीलाई आफ्नो सामाजिक सञ्जालमा साझा गरेका थिए, जसमा भारत र चीनलाई ‘नरकजस्तो देश’ भनिएको छ ।
ट्रम्पले यहाँका नागरिकले अमेरिकाको ‘बर्थराइट सिटिजनसिप’ अर्थात् जन्मका आधारमा पाइने नागरिकताको दुरुपयोग गरिरहेको पनि आरोप लगाएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले ट्रम्पको यो कदमको आलोचना गर्दै यस्तो टिप्पणीलाई पूर्ण रूपमा अस्वीकार्य बताएका छन् । उनले भनेका, “यो टिप्पणी स्पष्ट रूपमा अज्ञानतापूर्ण, अनुचित र अभद्र छ । यस्ता कुराहरूले भारत–अमेरिका सम्बन्धको वास्तविकतालाई दर्साउँदैन, जुन लामो समयदेखि आपसी सम्मान र साझा हितमा आधारित रहिआएको छ ।”
भारतीय मूलका अमेरिकी डेमोक्रेट सांसद अमी बेराले पनि ट्रम्पको यस कार्यलाई पदको गरिमाविपरीत भएको बताएका छन् । उनले यो अपमानजनक कार्य भन्दै ट्रम्पको रिपोस्ट अपमानजनक र अज्ञानी भएको बताएका छन् ।
“धनी र विशेषाधिकार प्राप्त परिवारमा जन्मेका ट्रम्पलाई धेरै आप्रवासी परिवारले भोग्नुपर्ने संघर्षको बारेमा कहिल्यै थाहा भएन,” बेराले टिप्पणी गरेका छन् ।
ट्रम्पले लामो समयदेखि अमेरिकामा जन्मिनासाथ नागरिकता पाउने नियमको विरोध गर्दै आएका छन् । यसै सन्दर्भमा उनले आप्रवासीविरुद्ध कडा टिप्पणी गर्ने पोस्टहरू साझा गरिरहेका छन् ।
भारतले ट्रम्प प्रशासनसँग विभिन्न रणनीतिक र व्यापारिक मुद्दामा सहकार्य गरिरहेका बेला यस्ता ‘अभद्र’ टिप्पणीले दुई देशबीचको कूटनीतिक विश्वासमा चुनौती खडा गर्न सक्ने बताइएको छ ।
भारतले आफ्नो प्रतिक्रियामा ‘आपसी सम्मान’को कुरा उठाएर ट्रम्पलाई कूटनीतिक मर्यादाको पालना गर्न सांकेतिक चेतावनी दिएको छ ।





प्रतिक्रिया