काठमाडौं । २१ फागुनको प्रतिनिधिसभाको चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण १२ चैतमा हुँदै छ । २७५ जना सदस्यमध्ये नेपाली कांग्रेसका अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य भएकाले उनले राष्ट्रपतिबाट शपथ खाएर अन्य सदस्यलाई शपथ खुवाउनेछन् ।
२४ जना सस्यले अन्य भाषामा शपथ खानका लागि नाम टिपाएका छन् । शपथसम्बन्धी ऐन २०७९ मा शपथको भाषासम्बन्धी व्यवस्था छ, जसअनुसार सांसदहरूले मातृ भाषामा शपथ लिन पाउनेछन् । शपथसम्बन्धी ऐनको दफा ५ मा भनिएको छ, ‘शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा लिनु वा गराउनुपर्नेछ ।’
सोही व्यवस्थाअनुसार आफूले शपथ खान चाहेको भाषाको विवरण संसद सचिवायलयमा दर्ता गरेका छन् ।
रास्वपाका सांसद विराजभक्त श्रेष्ठ र अनुष्का श्रेष्ठले नेपाल भाषामा शपथ खानका लागि नाम टिपाएका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने भएकी छन् ।
मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लेखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैँले प्रमाणित गरी शपथ गराउने पदाधिकारीसमक्ष शपथ लिनुअगावै पेस गर्नुपर्ने ऐनको दफा ५ (२) मा उल्लेख छ ।


प्रतिक्रिया