घट्यो,कृषि विकास बैंकको नाफा

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा कृषि विकास बैंकले २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। बैंकले गत असार मसान्तसम्मकाे अपरिस्कृत वित्तिय विवरण बिहीबार सार्वजनिक गरेकाे हाे।

विवरणअनुसार बैंकको नाफामा ठुलो मात्रामा गिरावट आएको छ। अघिल्लो वर्ष कृषि विकास बैंकले ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियाे। गत आर्थिक वर्षमा बैंकको नाफा २९.५२ प्रतिशत घटेकाे हाे।

कृषि विकास बैंक सरकारी स्वामित्वको बैंक हाे। गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ।

सञ्चालन नाफा पनि २४.३२ प्रतिशतले घटेर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँमा पुगेको छ। यस अवधिमा कर्जा नोक्सानी व्यवस्थापनका लागि बैंकले १ अर्ब १७ करोड २६ लाख रुपैयाँ छुट्याएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६३ करोड ७ लाख रुपैयाँभन्दा उल्लेख्य रूपमा बढी हो।

बैंकको वितरणयोग्य नाफा ५५.१९ प्रतिशतले घटेर १ अर्ब २६ करोड २१ लाख रुपैयाँमा झरेको छ। हाल बैंकको अग्राधिकार सेयर पुँजी ५ अर्ब ४३ करोड रुपैयाँसहित चुक्ता पुँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ छ। जगेडा कोषमा १९ अर्ब १६ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

असार मसान्तसम्म बैंकले ३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) अघिल्लो वर्षको ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ।

यस्तै प्रतिसेयर आम्दानी (ईपीएस) १६.११ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३१.७१ रुपैयाँ रहेको बैंककाे वित्तीय विवरणमा उल्लेख छ।

प्रतिक्रिया