काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखिएको छ।
सोमबार सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो। यस रिटमाथि मंगलबार सुनुवाइ हुनेछ।
सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए। रिट निवेदकको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेकी थिइन्। त्यो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका हुन्।
यसअघि गत चार दिन सुनुवाइ भएको थियो। तर महान्यायाधिवक्ताले गरेको माघ २ गतेको निर्णय झिकाउन आदेश दिँदै आजका लागि पेसी तोकिएको थियो।


प्रतिक्रिया