नागरिक लगानी कोषको वार्षिकोत्सव : अध्यक्ष र कार्यकारी निर्देशकले के भने ?

काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले उच्च तथा दिगो आर्थिक विकासका लागि कोषले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै कोषले विभिन्न बचत योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको जानकारी दिए ।नियामक निकायको मार्गदर्शन र कर्मचारीको समर्पणका कारण कोषले व्यावसायिक प्रगति हासिल गर्न सकेको उनको भनाइ छ ।

यस्तै, नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको लगानीलाई विविधीकरण गर्न आवश्यक रहेको बताए ।उनले कोषले सङ्कलित रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिए । हाल कोषको करिब आधा हिस्सा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गरिएको, करिब २२ प्रतिशत सापटी तथा कर्जामा र विभिन्न संस्थाका शेयरमा लगानी रहेको उनले बताए ।

उनका अनुसार करिब आधा लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको र ब्याजदरमा आएको गिरावटका कारण कोषको नाफामा पनि असर पर्नसक्ने देखिएको छ । लगानी विविधीकरण हुन नसके आम्दानीमा गिरावट आउने जोखिम रहेको उनको भनाइ छ । कार्यकारी निर्देशक कार्कीले सरकारले प्राथमिकतामा राखेका पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता बतए । कोषले सबै प्रदेशमा शाखा सञ्जाल विस्तार गर्दै सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग बढाएको पनि उनले बताए । आन्तरिक सुशासन, पारदर्शी तथा अद्यावधिक हिसाब प्रणालीलाई सुदृढ गर्दै कोषलाई दिगो प्रतिफल दिने संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।

साथै ठूलो आयोजनामा लगानी गर्नसक्ने सक्षम संस्थाका रूपमा कोष विकास हुँदै गएको उनको भनाइ छ । उनले नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका काममा केही समानता रहेको उल्लेख गर्नुहुँदै त्यसमा स्पष्टता आवस्यक रहेको बताए । नेपाल वायुसेवा निगममा करिब रु २२ अर्ब लगानी गरिएको र उक्त रकम असुलीमा केही कठिनाइ देखिएको जानकारी दिँदै उनले सरकारको ग्यारेन्टीमा ऋण प्रवाह भएकाले त्यसको व्यवस्थापनमा पहल भइरहेको बताए । कार्यक्रममा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले पनि दीर्घकालीन तथा सुरक्षित प्रतिफलका लागि कोषको लगानीलाई विविधीकरण गर्नुपर्ने बताए ।

कोषले मुद्दती निक्षेपमा मात्रै सीमित नभई ऋणपत्रलगायत विभिन्न वित्तीय उपकरणमा लगानी विस्तार गर्न आवश्यक रहेको उनले उल्लेख गरे । ब्याजदर कहिलेकाहीँ अत्यधिक बढ्ने र कहिले घट्ने भएकाले लगानीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन विभिन्न उपकरण प्रयोग गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार हाल बैंकिङ क्षेत्रमा करिब रु ७७ खर्ब निक्षेप सङ्कलन भएको छ भने करिब ५८ खर्ब कर्जा लगानी रहेको छ ।

चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रको विस्तार दर भने करिब तीन दशमलव नौ प्रतिशत हाराहारीमा मात्रै सीमित रहेको उनले जानकारी दिए । अध्यक्ष कोइरालाले पछिल्लो समय बैंकहरूले प्रवाह गरेको ऋण उठाउन पनि चुनौती देखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार