मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ ।

अमेरिका–इजरायल र इरानबीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीययाममै पोखरासहित आसपासका गन्तव्यमा चहलपहल घटेको हो । पोखरा आउने झन्डै ५० प्रतिशत विदेशी पर्यटकले आफ्नो ‘बुकिङ’ रद्द गरेको ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

“मध्यपूर्वका देश भएर नेपाल आउने युरोप–अमेरिकाका पर्यटक हवाई असुरक्षा र उडान रद्द भएका कारण आउन सकेका छैनन्”, उनले भने, “यही अवस्था लम्बिँदै गएमा कोभिड–१९ महामारीमाजस्तै पर्यटन क्षेत्र ठप्प हुनसक्छ ।”

पदयात्रामा आउने विदेशी पर्यटक न्यून हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रलगायत गन्तव्यस्थल सुनसान बनेको उनको भनाइ छ । पदयात्रा पर्यटनका लागि चैत–वैशाखको याम उत्तम मानिन्छ ।

“यो विदेशी पर्यटक बढी आउने याम हो, यही बेला मध्यपूर्वमा चर्किएको युद्धले आवागमन प्रभावित बनेको छ, पर्यटकले बुकिङ रद्द गरिरहेका छन्”, अध्यक्ष आचार्यले भने । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यस याममा दैनिक तीन हजार पाँच सयदेखि चार हजारसम्म पर्यटक नेपाल भित्रने गरेकामा मध्यपूर्वको तनावपछि एक हजार आठ सयदेखि दुई हजारसम्म मात्र पर्यटक आइरहेको बताए ।

“युरोप, अमेरिकालगायत पश्चिमा मुलुकबाट मध्यपूर्वका देश हुँदै नेपाल आउने पर्यटकको सङ्ख्यामा भारी गिरावट आएको छ”, उनले भने , “चाँडो युद्ध समाप्त भएर मध्यपूर्वको अवस्था सामान्य नबन्ने हो भने अझै ठूलो सङ्कट नेपालको पर्यटन क्षेत्रमा आउँछ ।”

प्रतिक्रिया